झलनाथ खनाललाई राखेर ओली र प्रचण्ड संवाद गर्दै

  • प्रकाशित मिति : २०७७ श्रावण १८, आईतवार
  • nepaltale.com

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच बालुवाटारमा छलफल शुरु भएको छ । आजको छलफलमा सचिवालय सदस्य झलनाथ खनालको पनि सहभागिता रहेका छन् ।

साउन १३ गते बसेको स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीलाई निकास दिने जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले छलफलका लागि नेता खनाललाई पनि साथमा लगेका हुन् ।

प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्छ भनि कुरा स्थायी कमिटी बैठकमा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको छ । अध्यक्ष अ‍ोलीले भने आफू कुनै पनि हालतमा राजीनामा नदिने बरु ‘अर्ली’ महाधिवेशन गर्ने र महाधिवेशनबाट नेतृत्व चयन गर्ने प्रस्ताव गरेका छन् ।

यता, अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्य माधवकुमार नेपाललगायतका नेताहरुले दुईटा पदमध्ये एउटाबाट राजीनामा दिनुपर्ने भन्दै आएका छन् । यसले गर्दा प्रधानमन्त्री अ‍ोली र अध्यक्ष प्रचण्डबीच दुरी बढ्दै गइरहेको छ ।

साउन १३ गते बस्ने भनिएको स्थायी कमिटीको बैठक प्रधानमन्त्री ओलीले एकतर्फीरुपमा स्थगित गरेका थिए । तर अध्यक्ष प्रचण्डले सोही दिन आफ्नो अध्यक्षतामा बैठक बसाएका थिए । सो बैठकमा २९ जना स्थायी कमिटीका सदस्यको उपस्थिति थियो ।

प्रधानमन्त्री ओलीले एकतर्फीरुपमा स्थायी कमिटीको बैठक स्थगित गर्नु गलत भएको ठहर बैठकले गरेको थियो ।

सोही दिन पार्टीका उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव दुवै अध्यक्षलाई सम्बोधन गरेर सार्वजनिक गरेका थिए । सो प्रस्ताव प्रधानमन्त्री ओलीको पक्षमा थियो । अध्यक्ष प्रचण्डको गुटमा रहेका वामदेव गौतम एकाएक ओलीलाई सहयोग पुग्ने गरी ल्याएको प्रस्तावले अध्यक्ष प्रचण्ड रक्षात्मक अवस्थामा पुगेका छन् । वामदेव गौतम लगायत उनको गुटमा रहेका मणि थापा, हरिबोल गजुरेल, रामबहादुर थापा, लेखराज भट्ट लगायतका नेताहरु समेत प्रचण्डको विपक्षमा बोल्न थालेपछि उनीमाथि दबाब बढ्दै गइरहेको छ ।

अध्यक्ष प्रचण्डले हिजोको एउटा कार्यक्रममा पार्टीभित्रको अहिलेको संघर्ष पदका लागि नभएर पार्टीको सुदृढीकरण र एकतालाई बलियो बनाउनका लागि भएको बताएका थिए । विगतको भन्दा प्रचण्ड अलि नरम भएपछि आजको लागि छलफलको वातावरण तयार भएको हो ।