काठमाडौं । पार्टीको आन्तरिक विवादका समाधानका सन्दर्भमा लामो समयको संवादहीनता पछि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच बिहीबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बिहीबारा बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
दुई नेताबीच पार्टीको आन्तरिक विवाद समाधानका विषयमा छलफल भइरहेको जनाइएको छ ।
पछिल्लो समय साउन २० गते दुई नेताबीच बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा प्रचण्डको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल र ओलीका तर्फबाट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।
तर, ओली र प्रचण्डले आ–आफ्नो अडान नछाड्दा कुनै सहमति भने हुन सकेको थिएन ।
त्यसपछि साउन २१ गते अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकार भेला गरेका थिए । आफू इतरका नेताहरुले पत्रकारहरुको छुट्टै भेला गरेपछि ओली चिढिएका थिए ।
साउन २१ गते नै दुई नेताबीच भेटवार्ता हुने तय भएपनि प्रचण्ड–नेपाल समूहले पत्रकार भेला गरेपछि ओलीले भेटवार्ता स्थगित गरेका थिए ।
साउन २१ गतेको भेटवार्ता स्थगित गरेर दुई नेताबीच दोस्रो दिन (साउन २२ गते) छलफल हुने भनिएको थियो । तर, त्यसयता दुवै नेताबीच छलफल हुन सकेको थिएन ।
दुई अध्यक्षबीच प्रत्यक्ष भेटवार्ता नभएपनि दोस्रो तहका नेताहरुमार्फत भने ‘सन्देश’हरु आदान–प्रदान भइरहेका थिए ।
प्रचण्डका तर्फबाट जनार्दन शर्मा तथा ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य नेम्वाङ अनौपचारिक छलफलमा थिए ।
पौडेल र नेम्वाङले प्रचण्डलाई भेटेरै पार्टी भित्रको विवाद समाधानका लागि दुई अध्यक्ष मिल्नुको विकल्प नभएको बताउँदै आएका थिए ।
यसबीच बुधबार एउटा टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी भित्रको विवाद समाधानका सन्दर्भमा ५ दिन भित्रै एउटा नयाँ सिनारियो देखिने बताएका थिए ।
गत असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने आवाज उठेपछि नेकपाभित्र आन्तरिक विवाद चर्किएको थियो ।
त्यसयता पटक पटक स्थगित हुँदै पुनः शुचारु हुँदै आएको स्थायी कमिटी बैठक साउन दोस्रो हप्ता यता अनिश्चित बनेको छ ।