भारतीय टेलिभिजन च्यानल एनडीटीभी वल्र्डले अगस्ट २७(भदौ ११) मा काठमाडौंमा ‘एनडीटीभी अन्विक्षाः सीमापार विचार’ विषयक संवाद शृंखलाको सुरुवात गर्ने भएको छ। नेपाल र भारतका राजनीतिक नेता, नीति निर्माता, कूटनीतिज्ञ, व्यवसायी, रणनीतिक मामिलाका विज्ञ तथा कला र खेलकुद क्षेत्रका व्यक्तित्वको सहभागितामा पहिलो भारत–नेपाल संवाद आयोजना हुन लागेको हो।
संवादमा नेपालको बदलिँदो राजनीतिक, आर्थिक तथा सामाजिक अवस्था, भारतसँगको सम्बन्ध र क्षेत्रीय भूमिकाबारे छलफल हुने जनाइएको छ। नेपालको आर्थिक सम्भावना, उद्यमशीलता, लोकतान्त्रिक विकास, युवाका आकांक्षा, प्रविधि, पर्यटन, पूर्वाधार, दिगोपन, व्यापार तथा क्षेत्रीय सहकार्य पनि छलफलका विषय रहनेछन्।
कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका सभापति गगन थापा तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय समितिकी सभापति सुम्निमा उदास सहभागी हुनेछन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि कार्यक्रममा सहभागी हुनेछन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, भारतीय कांग्रेसका नेता तथा पूर्वकूटनीतिज्ञ डा. शशि थरुर, इन्डिया फाउन्डेसनका अध्यक्ष डा. राम माधव, भाजपा राष्ट्रिय कार्यकारिणी सदस्य डा. विनय सहस्रबुद्धे र भाजपा विदेश मामिला प्रमुख डा. विजय चौथाइवाले पनि सहभागी हुनेछन्।
व्यवसाय क्षेत्रबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव तयाल सहभागी हुनेछन्।
सांस्कृतिक क्षेत्रबाट अभिनेत्री मनिषा कोइराला र अभिनेता राजेश हमाल तथा खेलकुद क्षेत्रबाट नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको सहभागिता रहनेछ।

एनडीटीभीका अनुसार ‘अन्विक्षा’ले कुनै देशलाई बाह्य दृष्टिकोणबाट मात्र नभई सम्बन्धित देशकै आवाज, प्राथमिकता, चुनौती र भविष्यका आकांक्षामार्फत बुझ्ने प्रयास गर्नेछ।
‘अन्विक्षा’ शब्द प्राचीन भारतीय परम्पराको ‘अन्विक्षिकी’बाट लिइएको हो, जसले तर्क, चिन्तन र परीक्षणमार्फत विषय बुझ्ने अवधारणालाई जनाउँछ।
एनडीटीभीका प्रमुख कार्यकारी अधिकृत तथा प्रधान सम्पादक राहुल कंवलले देशहरूबीच अर्थपूर्ण संवादका लागि पूर्वधारणाभन्दा माथि उठेर सम्बन्धित राष्ट्रले आफूलाई कसरी हेर्छ भन्ने कुरा बुझ्न आवश्यक रहेको बताएका छन्।
एनडीटीभी वल्र्डका सम्पादक नवीन कपुरका अनुसार यो शृंखलाले विभिन्न देशलाई उनीहरूकै दृष्टिकोण, प्राथमिकता र आकांक्षामार्फत बुझ्ने प्रयास गर्नेछ।
काठमाडौंमा हुने पहिलो कार्यक्रमपछि ‘अन्विक्षा’ संवाद शृंखला विभिन्न देश र महादेशमा विस्तार गरिने एनडीटीभी वल्र्डले जनाएको छ।