काठमाडौं। म्युकोर्माइकोसिस (कालो ढुसी) प्राकृतिक रूपमै हाम्रो वरपरको वातावरण र माटोमा पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो ।
सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमण ओसिलो ठाउँमा हुने जोखिम बढी छ । जब मानिसको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, त्यतिबेला यसको संक्रमण हुने जोखिम बढी हुन्छ । पछिल्लो समय नेपालमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण कोभिड–१९ संक्रमित वा संक्रमण मुक्त भएका व्यक्तिहरुमा देखिएका छन् । यो संक्रमण बिरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमै ध्यान पुर्याउनु आवश्यक छ ।
👉️प्रारम्भिक लक्षणहरु के–के हुन् ?
-अनुहार, नाक, मुख, आँखा वरिपरि दुख्ने
-आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने
-नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने
-नाकबाट रगत जस्तो तरल पदार्थ बग्ने
-बाक्लो सिँगान आउने
-आँखाको ढकनी सुनिने र दुख्ने, आँखाले धमिलो देख्ने
-दाँत दुख्ने वा हल्लिने
-टाउको भारी हुने
-ज्वरो आउने
-अचेत हुने, बरबराउने हुने
👉️कतिखेर अस्पताल भर्ना हुने ?
जुनसुकै उमेर समूहका मानिसमा कोलो ढुसीको संक्रमण हुनसक्छ । तर नेपालको सन्दर्भमा १८ देखि ६० वर्ष उमेर समूहमा देखा परेका छन् । कालो ढुसीका लक्षणहरु देखा परेमा नजिकैको अस्पताल जानुपर्छ । चिकित्सकहरुले आवश्यकता अनुसार परीक्षण गरेर यसको पहिचान गर्छन् । फङ्गल टेस्टदेखि लिएर एमआरआईमार्फत यसको परीक्षण गरिन्छ । परीक्षणमार्फत शरीरको कुन–कुन भागमा यसको इन्फेक्सन देखिएको छ सोही अनुसार चिकित्सकहरुले उपचार प्रक्रिया अगाडि बढाउँछन् ।
👉️के छ उपचार विधि ?
यसको उपचारका क्रममा स्लाइनबाट दिने औषधि १० देखि १४ दिनसम्म दिनुपर्ने हुन्छ । त्यसपछि पोसाकोनाजोल नामक खाने औषधि बिरामीको अवस्था हेरेर एकडेढ महिनाका लागि दिइन्छ ।कालो ढुसीको उपचारमा विशेषतः ‘एम्फोटेरिसिन बी’ इन्जेक्सन मार्फत औषधिको प्रयोग गरिन्छ । यो औषधि अनिवार्य हो । यो सँगसँगै सर्जरी गर्नुपर्छ । जुन–जुन अंगमा संक्रमण छ, उक्त ठाउँको सर्जरी गर्नुपर्छ । यसको संक्रमण विशेष गरी नाक, आँखा, साइन, मस्तिष्क लगायतको भागमा हुन्छ । आँखामा यसको संक्रमण गम्भीर भए नानी नै निकाल्नु पर्ने हुन्छ ।
👉️कस्ता व्यक्तिलाई हुन सक्छ उच्च जोखिम ?
यो कुनै नयाँ रोग होइन । तर यो एकदम दुर्लभ संक्रमण हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । त्यसैले यो रोग सरुवा होइन । तर यो संक्रमण निकै गम्भीर हुन्छ, संक्रमण बढ्दै जाँदा यो प्राणघातक पनि बन्न सक्छ ।
-यो रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर भएका अनियन्त्रित मधुमेह, अंगप्रत्यारोपण गरिएका बिरामी र क्यान्सरको उपचार गराइ रहेका बिरामी
-कोभिड–१९ को उपचारको लागि अस्पतालमा भर्ना भएका र डिस्चार्ज भएका बिरामी
-कोभिड–१९ उपचारका क्रममा स्टेरोइड औषधि प्रयोग गरेका व्यक्तिहरु
-चिकित्सकको परामर्शविना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु
-फोहोर, ओसिलो तथा हावा राम्रोसँग आउजाउ नहुने क्षेत्रमा बस्दा
-शरीरमा पानीको मात्रा कम हुँदा
👉️के छन् रोकथामका उपायहरु ?
-सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजल मास्कको पुनः प्रयोग नगर्ने
-नियमित रुपमा हात धुने वा सेनिटाइजर प्रयोग गर्ने
-व्यक्तिगत सरसफाइमा ध्यान दिने
-धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
-नुनिलो पानीले नाक सफा गर्ने
-पोमिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
-मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने
-स्वास्थ्यकर्मीको सस्ल्लाहमा मात्रै औषधि प्रयोग गर्ने