त्रिवि प्रहरीको परेड खेलाउने स्थल होइन: नेविसंघ

  • प्रकाशित मिति : २०७७ आश्विन ५, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक रहेको बताएको छ।

सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्न पनि नेविसंघ अध्यक्ष राजिब ढुंगानाले सोमबार विज्ञप्ति निकालेर आग्रह गरेका छन्।



‘विश्वविद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक छ,’ उनले भनेका छन्, ‘सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप तुरून्त बन्द गरोस्। हैन भने सरकारले गराएको प्रहरी हस्तक्षेप र उपकुलपतिले गराएको प्रहरी संरक्षित गुण्डागर्दीको विरूद्ध निर्णायक आन्दोलन गर्न बाध्य हुनेछौं।’

त्रिविमा उपकुलपतिले नेविसंघ कार्यकर्ता र आफूसँग असहमत प्राध्यापकहरूलाई झुठा मुद्दा लगाएर दु:ख दिएको पनि नेविसंघको आरोप छ।

त्रिविमा प्रहरी उपस्थित गराई विद्यार्थी र प्राध्यापकहरूलाई आतंकित पार्ने कार्यको भर्त्सना गर्दछौं,’ अध्यक्ष ढुंगानाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालय शैक्षिक तपोभूमि हो। प्रहरीको परेड खेलाउने स्थल हैन।’

नेविसंघले विगतमा त्रिविका बेथिति अन्त्य गर्न आवाज उठाउँदै ज्ञापन पत्र दिए पनि ती माग लत्याउने काम भइरहेको र वार्तासमेत त्रिविले नगरेको नेविसंघको भनाइ छ। वार्ता र संवादबाट त्रिविका सबै समस्याका समाधान खोज्न पनि नेविसंघको माग छ।

नेविसंघ महामन्त्री दीपक भट्टराईले जायज माग राख्दा पनि त्रिविले वार्ता नगरेको बताए।

‘शैक्षिक सुधारका लागि न त्रिविसँग कुनै योजना छ न विद्यार्थीहरूले भनेको मान्छ,’ उनले भने, ‘विद्यार्थीले जायज माग राख्दा झुठा मुद्दा लगाउने? प्राज्ञिक थलोलाई ब्यारेक बनाउने खोज्ने? यो हामीलाई स्वीकार्य हुँदैन।’