उपकुलपति बन्ने दौडमा २२६ आकाङ्क्षी, त्रिविमा सबैभन्दा बढी आवेदन

  • प्रकाशित मिति : २०८३ जेष्ठ ७, बिहीबार
  • नेपाल टेल संवाददाता

सरकारले अध्यादेशमार्फत् देशभरका विश्वविद्यालयका पदाधिकारीलाई एकमुस्ट बर्खास्त गरेपछि रिक्त बनेका उपकुलपति पदमा नियुक्तिका लागि उच्च आकर्षण देखिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार विभिन्न आठ विश्वविद्यालयका उपकुलपति पदका लागि कूल २२६ आवेदन परेको छ ।सरकारले पहिलाे चरणमा आठ वटा विश्वविद्यालयमा ‘उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ लागू गर्दै खुला आवेदन आह्वान गरेको थियो । सोहीअनुसार अनलाइनमार्फत आवेदन सङ्कलन गरिएको मन्त्रालयले जनाएको छ ।



प्राप्त विवरणअनुसार त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा बढी ५० आवेदन परेको छ । देशकै पुरानो र ठूलो विश्वविद्यालय भएकाले त्रिविको उपकुलपति पदमा सबैभन्दा बढी प्रतिस्पर्धा देखिएको हो ।

यस्तै पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान ३८/३८ आवेदन परेको छ । राजर्षि जनक विश्वविद्यालयमा २७, मध्यपश्चिम विश्वविद्यालयमा २० तथा सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा समान १९/१९ आवेदन प्राप्त भएका छन् ।

सबैभन्दा कम आवेदन भने कृषि तथा वन विज्ञान विश्वविद्यालय मा परेको छ । उक्त विश्वविद्यालयमा १५ जनाले मात्रै उपकुलपति बन्न आवेदन दिएका छन् ।

सरकारले केही समयअघि अध्यादेश ल्याएर विभिन्न विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेको थियो । उक्त निर्णयपछि शैक्षिक तथा राजनीतिक वृत्तमा व्यापक बहस भएको थियो ।

अहिले नयाँ नेतृत्व चयन प्रक्रियामा देशभरका शिक्षाविद्, प्राध्यापक र प्रशासनिक अनुभव भएका व्यक्तिहरूको चासो बढेको देखिएको छ ।