तस्करको समूह र प्रहरीबीच झडप, २ प्रहरी घाइते

  • प्रकाशित मिति : २०७७ आश्विन २८, बुधबार
  • nepaltale.com

सप्तरी । तस्करको समूह र प्रहरीबीच सप्तरीमा झडप भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर १३ मुसहर्नियाँमा मंगलबार राति भारतबाट भन्सार छलेर सामान ल्याउने तस्करको समूह र प्रहरीबीच सप्तरीमा झडप भएको हो । झडपमा प्रहरी हबल्दार कमलदेव यादव र प्रहरी जवान दीपेन्द्र साह घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर समेत गरेको छ ।

भारतबाट तस्करहरुले सामान ल्याउन लाग्दा प्रहरीले घेरा हालेको थियो । त्यस क्रममा तस्करहरुले स्थानीयलाई बोलाएका थिए । घरेलु हतियारसहित आएकाहरु प्रहरीमाथि जाइलागेको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले जानकारी दिए । उनका अनुसार घरेलु हतियार प्रहारबाट यादव र साह घाइते भएका छन् ।

दुवैको टाउकोमा चोट लागेको छ । जवानको टाउकोमा सात वटा टाँका लगाउनुपरेको एसपी धमलाले बताए । तस्करहरु सामानसहित फरार भएको उनको भनाई छ । फरार भएकाहरुको खोजी भइरहेको एसपी धमलाले बताए ।