भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् ।
भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै जयशंकरले लामिछाने र उनको प्रतिनिधिमण्डलसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनका अनुसार भेटवार्तामा नेपाल–भारत विकास साझेदारी तथा दुई देशबीचको जनस्तरीय सम्बन्धका विषयमा केन्द्रित भएर छलफल भएको थियो ।
जयशंकरले नेपाल र भारतबीचको विकास साझेदारी तथा जनता–जनताबीचको सम्बन्धले आर्थिक वृद्धि, समृद्धि र आपसी सहकार्यलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।
यसअघि लामिछानेले भाजपाका अध्यक्ष नितिन नविनसँग भेट गरेका थिए ।भाजपाको ‘भाजपालाई चिन्नुहोस्’ अभियानअन्तर्गत भएको उक्त भेट नयाँदिल्लीस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । भेटमा दुवै पक्षबीच नेपाल–भारत सम्बन्ध, साझा सांस्कृतिक र ऐतिहासिक सम्पदा, लोकतान्त्रिक संवाद तथा पार्टी–पार्टी सहकार्यबारे छलफल भएको बताइएको छ ।
भाजपा नेतृत्वले आफ्नो संगठनात्मक संरचना, सदस्यता वितरण प्रक्रिया, उम्मेदवार चयन प्रणाली र बुथ–स्तर संगठन मोडेलबारे जानकारी दिएको थियो । पार्टीले तल्लो तहसम्म जनसम्पर्क र कार्यकर्ता परिचालनलाई आफ्नो प्रमुख शक्ति स्रोतका रूपमा प्रस्तुत गरेको बताइएको छ ।
रास्वपा प्रतिनिधिमण्डलले भने पार्टीको संगठनात्मक अभ्यास, कार्यकर्ता व्यवस्थापन र जनसम्पर्क प्रणालीबारे जिज्ञासा राखेको थियो ।
भेटमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह, सांसद सञ्जय जायसवाल, बाँसुरी स्वराज तथा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसहित नेताहरू सहभागी थिए ।
कार्यक्रमपछि रास्वपा टोलीले पार्टी मुख्यालयस्थित मिडिया सेन्टर र पुस्तकालयको अवलोकनसमेत गरेको थियो । त्यसपछि दिवाभोजसहित अनौपचारिक छलफल भएको बताइएको छ, जसमा भारतका केही प्रदेशस्तरीय नेताहरू समेत सहभागी थिए ।
भ्रमणलाई दुवै दलबीचको राजनीतिक संवाद विस्तार र संगठनात्मक अनुभव आदानप्रदानको प्रयासका रूपमा हेरिएको छ ।