आयू द्रोणसुते : दुई दीर्घजीवी, यि कर्मवीर

  • प्रकाशित मिति : 2020-10-24
  • nepaltale.com

हिन्दीमा एक कहावत छ, ‘जीवन लम्बा नहीं बडा होना चाहिए ।’ तर, जीवन लामो पनि, निरोगी पनि र महान पनि भइदिए ?

अहो कस्तो दुर्लभ सौभाग्य !



यस्तै सौभाग्यशली दुई परिचित पात्र छन्, सत्यमोहन जोशी र भैरव रिसाल । आयुको गणना गर्ने हो भने, सत्यमोहन जोशीले सय बर्ष पार गरिसकेका छन् । भैरव रिसाल ९३ बर्ष । नेपालीको औसत आयु ७२ बर्षलाई जीवनको एउटा अध्याय पुरा भएको मान्ने हो भने उनीहरु ‘अतिरिक्त’ जीवन बाँचिरहेका छन् । तर, यो ‘अतिरिक्त’ जीवन पनि कस्तो भने–

उत्सुकता– ६ बर्षे बालकको जस्तो ।

उमंग – १६ बर्षे किशोरको जस्तो ।

उर्जा– २६ बर्षे जवानको जस्तो ।

किन थाक्दैनन् यी बुढाद्वय ? अझैपनि उत्तिकै गतिशिल, जागरुक र सिर्जनशिल । के उनीहरुले अजम्बरीका बुटी खाएका छन् ?

दीर्घजीवनको रहस्यबारे उनीहरुले धेरै जनालाई, अनेक पटक उत्तर दिइसके सायद । त्यसको गुप्त रहस्य नखुल्ने कुरै भएन । दीर्घायुबारे दुबैको अनुभव र बुझाई करिब उस्तै छ, ‘सक्रिय रहनु, सादा र सुपाच्य मात्र खानु, सामान्य जीवनशैली अपनाउनु, सधै सकारात्मक र आशाबादी रहनु ।’ दुबैको केही साझा बिशेषता छन् ।

–अक्सर पैदल हिँड्ने ।

–सुविधाभोगी र ऐशआरमपूर्ण जीवनबाट टाढा रहने ।

–सामान्य खानपान, साधारण जीवनशैली अपनाउने ।

–निरन्तर केही न केही काम गरिरहने ।

–सधै उत्सुक र जागरुक रहने ।

–सानो कुरामा पनि खुसी हुने ।

–आफ्नो काममा आनन्द लिने ।

चिकित्सा विज्ञानले भन्छ, ‘तीस बर्ष उमेर काटेपछि खानपान र जीवनशैली परिवर्तन गर्नुपर्छ । संयमित खाना र संयमित जीवन अपनाउनुपर्छ ।’ तर, तीस बर्षे उमेरलाई तीन गुणा पर धकेलेका सत्यमोहन जोशी र भैरव रिसालका हकमा यस्ता सर्त जरुरी छैन । किनभने उनीहरुले आफ्नो इन्द्रियलाई नै यसरी तालिमप्राप्त बनाएका छन् कि, त्यसले कुनै अनुशासन उल्लंघन गर्दैन ।

बर्षौं बर्षदेखि एकनासको जीवनमा अभ्यस्त उनीहरु तडकभडक भन्दा टाढा रहे । सधै सन्तुलित, संयमित जीवनशैली अपनाए । त्यसैले त कहिल्यै अस्पतालको चक्कर लगाउनु परेन, औषधिपानीको भर पर्नु परेन । सधै तगडा, सधै निरोगी । पूर्ण जीवनका निम्ति यो भन्दा ठूलो उपहार के होला ?

गौतम बुद्ध भन्छन्, ‘स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । बिना स्वास्थ्य जीवन, जीवन होइन । केवल पीडाको एक स्थिती हो ।’ र, आज दुनिया पीडाकै स्थितीमा छ । त्यसो नहुँदो हो त यत्तिका अस्पताल किन भरिभराउ हुन्थे ? दिनमै अर्बौ अर्बौंको औषधि किन खपत हुन्थे ?

आज मान्छेले आफ्नो पूर्ण आयु पनि बाँच्न पाएका÷सकेका छैनन् । अनेक रोगको पीडा बोकेर अस्पतालको चक्कर लगाउँदैमा धेरैको दैनिकी बितिरहेको छ । यस्तो पृष्टभूमीमा कोही औसत आयुभन्दा दोब्बर उमेर बाँच्छन्, त्यो पनि ऐया र आत्था नगरी । उसैगरी हिँड्छन्, डुल्छन् । उस्तै खान्छन् । हरेक दिनलाई रचनात्मक बनाउँछन् । यस्तो लोभलाग्दो जीवन कसरी मिल्छ ? निरोगी र दीर्घायु जीवन कसरी मिल्छ ? त्यो उमेरमा पनि उस्तै उर्जा र रचनात्मक क्षमता कसरी मिल्छ ?

सत्यमोहन जोशी

दौरा सुरुवाल लगाएका, टोपी पहिरिएका, अग्ला कदका, खिरिलो ज्यानका सत्यमोहन जोशीलाई तपाईं जहाँ पनि भेट्न सक्नुहुन्छ । बाटोमा, चोकमा, कार्यक्रममा । किनभने उनी अक्सर हिँडडुल गरिरहेकै हुन्छन् । जति अग्लो ख्याती छ, त्यस विपरित अत्यान्तै साधरण जीवन यापनमा रमाएका छन् उनी ।

उनको खानपान सधै एकनास हुन्छ । दाल, भात, तरकारी । बिहान र साँझको खाना यही हो । दिउँसो चिउरामा अचार मिसाएर खाजा खान्छन् । दिनमा एक गीलास दुध भने छुटाउँदैनन् । उनको सुझाव छ, ‘सकेसम्म आफ्नै भान्सामा पाकेको खानु । ठिक्क खानु । पच्ने खनु ।’

उनलाई मासुमा खासै आशक्ति छैन । भोजभत्तेरमा खासै समेल हुँदैनन् । सुत्ने र उठ्ने तालिका नियमित छ । सुत्नुअघि दुई पेग जति लोकल रक्सी पिउँछन् । त्यसपछि ओछ्यानमा पुग्नसाथ निद्राले छोपिहाल्छ ।

गहन खोज, अध्ययन र लेखनमा लामो समय बिताएका उनले ७१ को हाराहरीमा पुस्तक लेखेका छन् । उनलाई संगीत सुन्न मन लाग्छ । कास्की, तनहुँतिर गाइने लोकभाकाले उनलाई आनन्द महसुष गराउँछ ।

भैरव रिसाल

सर्ट र पाइन्ट, कालो छालाको जुत्ता लगाएका, होचो कदका, खिरिलो ज्यानका भैरव रिसालले सधै एकनासको जीवन विताए । उनको पहिरन, खानपान, दिनचर्या सधै उस्तै रह्यो । अहिले पनि ।

बिहान सबेरै उठ्नु, चिसो पानीले एकसरो ज्यान पखाल्नु, दुई÷तीन वटा तुलसीको पात खानु, योग–ध्यान–प्राणायाम गर्नु, पत्रपत्रिका पढ्नु । सधै सफाचट रहनु । हिँडिरहनु । बोलिरहनु । केही न केही गरिरहनु । लेखिरहनु । उनको आफ्नो खास विशेषता ।

दाल–भात तरकारी उनको मुख्य खान्की । मदिरा पिउँदैनन् । भोजभत्तेरमा बस्दैनन् । तडकभडक गर्दैनन् । ऐशआरम रुचाउँदैनन् । रिस, कुष्ठा, महत्वकांक्षालाई पैतलामा दबाएका छन् ।

उनको स्वभाव के छ भने, सधै नयाँ नयाँ कुरा जान्न उत्सुक रहनु । जसरी एउटा अबोध बालकले हरेक कुरामा जिज्ञासु र उत्सुक हुन्छन्, जीवनको उत्तराद्र्धमा पनि भैरव रिसाल यस्तै छन् । सानो सानो कुरामा मख्ख पर्नु, खुसी हुनु, उत्साहित र आशावादी हुनु । सधै सकारात्मक रहनु । रचनात्मक रहनु उनको आफ्नै विशेषता हो ।

उनले आफुलाई सधै सन्तुलित र संयमित राखे । तर, रोगसँग कहिल्यै डराएनन् । मृत्युसँग पनि । उनी भन्ने गर्छन्, ‘मलाई कहिल्यै मर्नदेखि डर लागेन ।’ जबकी मानव जातिका लागि मृत्यु नै सबैभन्दा ठूलो डर हो । डरलाई नै जितेपछि के हुन्छ ? -अनलाइन खबरको सहयोगमा