कोरोनाको लक्षण शुरुका केही दिनपछि धेरैमा हराउँछन्, पछि एक्कासी गारो पार्छ

  • प्रकाशित मिति : 2020-10-31
  • डा अनुप सुवेदी

काठमाडौं। कोभिड-१९(कोरोना भाइरस ) जस्ता लक्षण (ज्वरो, खोकी, अरू बेलाभन्दा फरक/बढी टाउको/जिउ दुख्ने वा जिउ गल्ने/कमजोर हुने, गन्ध वा स्वाद हराउने, पखाला चल्ने) देखिने बित्तिकै चाँडो भन्दा चाँडो पिसिआर परीक्षण गरिहाल्नु अत्यन्त जरुरी छ ।

यसो भन्नुका कारणहरूः
१. यदि सिकिस्त भइयो भने तुरुन्त सही उपचार शुरु गर्न पाइन्छ, र अनावश्यक र संभवतः हानीकारक उपचार (जस्तै एन्टिबायोटिक्स, १० थरी भिटामिन आदि) पनि गर्नुपर्दैन।



लक्षण शुरु भएको ८-९ दिनमाअक्सिजन कम भएर सिकिस्त भएर अस्पताल आइपुग्दा पनि पिसिआर पहिल्यै नगरेको हुनाले फेरि पिसिआर पठाएर नतीजालाई थप १-२ दिन कुर्दाकुर्दै झन सिकिस्त भएर भेन्टिलेटर चाहिएको, मृत्यु नै भएको धेरै देखिसकियो।

२. कोभिडमा ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने जस्ता लक्षण शुरुका केही दिनपछि धेरैमा हराउँछन् वा मत्थर हुन्छन्, अनि दोस्रो हप्तातिर एक्कासी ज्वरो, स्वाँ स्वाँ बढ्ने, अक्सिजन चाहिने हुन्छ। प्रायः बिरामीले १-२ दिन देखिएर लक्षण हराएपछि वास्ता गर्न छोड्छन्, पिसिआर गर्न आवश्यक ठान्दैनन्।

तर जाँच गर्दा रोगको पहिचान हुने संभावना भने लक्षण शुरु भएको बेलातिर सबैभन्दा बढी हुन्छ, केही दिनमै PCRको पहिचान गर्ने क्षमता धेरै घट्छ।झन् दोस्रो हप्तामा सिकिस्त भइसकेपछि परीक्षण गर्दा पोजिटिव देखिने संभावना धेरै कम हुन्छ। र सही उपचार नपाउने, गलत उपचार पाउने संभावना पनि बढ्छ।

३. मानौं तपाईं कोभिडले सिकिस्त भएर अस्पतालमा अक्सिजन चाहिने अवस्थामा पुग्नुभयो, तर PCR भएको छैन। कोभिडको पुष्टी भइसकेकालाई अरू कोभिडका बिरामीसँगै एउटै वार्ड वा कोठामा राख्न मिल्छ।

तर कोभिडको शंका मात्र भएका तर पुष्टी नभएकालाई सँगै राख्न मिल्दैन, छुट्टै कोठामा एक्लै राख्नुपर्छ नत्र सँगै राखिएकामध्ये एकलाई कोभिड रहेछ र अरूलाई रहेनछ भने अरूलाई पनि सर्ने खतरा हुनेभो।
त्यसैले त्यस्तो अवस्थामा तपाईंलाई भर्ना गर्न एक्लै बस्ने छुट्टै कोठा मिल्नुपर्‍यो जुन अचेल एकदम दुर्लभ छ।

कोभिड वार्डमा जति बेड खालि भए पनि तपाईंलाई राख्न मिलेन। पिसिआर को नतीजा नहुनाले तपाईंले उपचार गर्न शय्या नपाउने, उपचारै नहुने संभावना धेरै बढ्ने भयो।

४. अनि चाँडो नतीजा थाहा पाउँदा आफ्ना परिवारका मान्छे र अरू संपर्कमा आएकालाई जोगाउन पनि उति नै संभव हुने नै भयो।

त्यसैले कोभिडको लक्षण देखिनेले कम्तीमा पिसिआर चाहिं चाँडोभन्दा चाँडो गरिहाल्नु जरूरी छ ।