भिटेनलाई पक्राउ नगर्न अदालतको आदेश

  • प्रकाशित मिति : २०७७ कार्तिक १८, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ ।

गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको नदेखिएको अदालतले भनेको हो ।



मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरदिएको अदालतका उप–रजिस्टार शम्भु रेग्मीले जानकारी दिए ।

उनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले गएको बिहीबार साइबर ब्युरोलाई चिठी लेखेको थियो।

भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार प्रहरीको साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको थियो ।

भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए।

यसअघि पनि भिटेनलाई महानगरीय अपराध महाशाखाले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको थियो।

प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो। आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले उनलाई बिनाकारबाही रिहा गरेको थियो।

भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको एसएसपी कडायतको भनाइ थियो।

साइबर ब्युरोले प्रधान कार्यालयले लेखेको चिठी प्राप्त भएपछि अनुसन्धान थालेको थियो।
त्यसपछि उनले आपत्तिजनक शब्दहरु हटाउने जनाएका थिए।