पाँचथर। पछिल्लो पटक गरिएको परिक्षणबाट फिदिममा एकै दिन १४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । पछिल्लो पटक पाँचथरबाट परिक्षणका लागि पठाइएकाहरुमा ठुलो संख्यामा संक्रमण देखिएको हो । पाँचथर सदरमुकाम फिदिममा पछिल्लो पटक गरिएको स्वाब परिक्षणमा ३ जना थुनुवा सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय पाँचथरले केहिदिन अघि संकलन गरेर पठाएको ४१ जनाको स्वाब परिक्षणमा १४ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
१४ मध्ये ११ जना फिदिम बजारका व्यवसायी र तिनको सम्पर्कमा रहेका व्यक्ति रहेको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ । संक्रमण पुुष्टि भएका मध्ये महिलाको संख्या ५ रहेको छ ।
सदरमुकाम फिदिमका ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको परिवारका सदस्यसँगै सम्पर्कमा रहेका र यसअघि कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेका गरी ४१ जनाको स्वाब परिक्षणका लागि पठाइएको स्वास्थ कार्यालय पाँचथरका प्रमूख नारदमणी सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो परिणाममा यसअघि संक्रमण पुष्टि भएका ५ जना संक्रमण मुक्त भएका छन । अव जिल्लामा सकृय संक्रमितको संख्या २२ पुगेको स्वास्थ कार्यालयसँग तथ्यांक छ ।