उपत्यकामा १ हजार ३९८ सङ्क्रमित थपिए

  • प्रकाशित मिति : २०७७ कार्तिक २०, बिहीबार
  • nepaltale.com

काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना भाइरस (कोभिड –१९)को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार ६८ जनाको स्वास्थ्य परीक्षण गर्दा एक हजार २०९ महिला र एक हजार ८४२ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।

हाल देशभर सक्रिय सङ्क्रमित ३६ हजार ५१४ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको सङ्ख्या तीन हजार ४३० रहेको छ।

योसँगै निको हुनेको सङ्ख्या एक लाख ४८ हजार ४०८ पुगेको छ।

हाल देशभर एक हजार दुई सय ३२ जना क्वारेन्टिनमा रहेका छन्।

ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५२ पुग्यो

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा १ हजार ३९८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार ९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकामध्ये काठमाडौंमा हालसम्म सङ्क्रमितको सङ्ख्या ६८ हजार ४४९ पुगेको छ भने निको हुनेको सङ्ख्या ५१ हजार ८५९ रहेको छ।

भक्तपुरमा हालसम्म ६ हजार २३२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने निको हुने चार हजार ९१५ रहेका छन्।

यस्तै ललितपुरमा कूल नौ हजार ६६३ सङ्क्रमितमध्ये सात हजार ३२२ जना निको भएका छन्।

हाल दुई जिल्ला मनाङ र बाजुरा बाहेकका ७५ वटै जिल्लामा सक्रिय सङ्क्रमित रहेका छन्।