प्रलोपामा विवाद चर्कियो, बाबुरामले भने– ‘किर्ते र ठग’

  • प्रकाशित मिति : २०८३ बैशाख २७, आईतवार
  • नेपाल टेल संवाददाता

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)भित्र नेताहरूबीचको विवाद थप चर्किएको छ । पार्टीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अलग भएको भन्दै अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारले सार्वजनिक गरेको परिपत्रप्रति भट्टराईले कडा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले उक्त परिपत्र कुनै आधिकारिक दस्तावेज नभएको दाबी गरेका छन् । उनले सत्यतथ्य छानबिन गर्दा त्यो कुनै संगठनको आधिकारिक परिपत्र नभई “एउटा महत्त्वाकांक्षी व्यक्तिको निजी लेखोट” मात्र रहेको बताएका छन् ।



‘यसको कुनै आधिकारिकता र वैधानिकता छैन,’ भट्टराईले उल्लेख गरेका छन् ।

उनले ११ र १२ वैशाखमा भएको भनिएको भेला पनि आधिकारिक नभएको जिकिर गरेका छन् । साथै, सन्तोष परियारले आफैँलाई एकल अध्यक्ष घोषणा गरेको आरोपसमेत लगाएका छन् ।

भट्टराईले पार्टी केन्द्रीय कार्यालयमै नगई “अँध्यारो कुनाबाट परिपत्र सार्वजनिक गरिएको” भन्दै त्यसलाई कानुनअनुसार “किर्ते र ठगी” को संज्ञा दिएका छन् ।

प्रलोपाभित्र नेतृत्व, वैचारिक दिशा र संगठनात्मक वैधानिकतालाई लिएर पछिल्लो समय विवाद तीव्र बन्दै गएको देखिएको छ ।