आईसियूमा रहेका पूर्वपति गजुरेललाई मिनाले लेखिन् यस्तो पत्र

  • प्रकाशित मिति : २०७७ कार्तिक २१, शुक्रबार
  • nepaltale.com

काठमाडौं । कोरोना संक्रमित भई अस्पताल भर्ना भएका चर्चित हास्य कलाकार मनोज गजुरेलको अहिले आईसियूमा उपचार भइरहेको छ।

उनको अवस्था गम्भीर भएपछि आइसियुमा सारिएको हो। कलाकार गजुरेलको फोक्सोमा समस्या देखिएको बताइएको छ।

उनलाई कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।

आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए।

शुभचिन्तकहरुले कलाकार गजुरेलको सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

यसैबीच, कलाकार गजुरेलकी पूर्वपत्नी मिना ढकालले सामाजिक सञ्जाल मार्फत पत्र लेख्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्।

यस्तो छ उनको पत्र

जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ। मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ। हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु। तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ।

भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियुमा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो। जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दछु। तिम्रो जिवन संग मेरा दुइ सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन। छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन-म यो रियलाईज गरिरहेछु।

मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु। मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि। आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन। छोराछोरी तिम्रो प्रति़क्षामा छन.. तिमी र म विच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ-हार नमानिदेउ। छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ!

-उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी !!

कलाकार गजुरेल र ढकालले केही समय पहिले २२ वर्ष लामो बैवाहिक जीवनको अन्त्य गर्दै डिभोर्स गरेका थिए।

उनीहरुका २० वर्षका एक छोरा र १३ वर्षकी छोरी छन्। छोरा मनोजसँग र छोरी मिनासँग बस्दैं आएका छन्।