मैले व्यक्तिगत जीवन र एकल महिलाका रुपमा गरेका अनुभूतिहरू

  • प्रकाशित मिति : २०७७ मंसिर २८, आईतवार
  • चन्द्रकला बाँसकोटा

काठमाडौं। मेरो व्यक्तिगत जीवन र एकल महिलाका रुपमा अनुभव भएका वा सँगालेका केही तीता अनुभूतिहरुलाई दर्शक श्रोता माझ पोख्ने जमर्को गरेकी छु, स्वीकार गरिदिनु होला ।

आफू एकल महिला भए पनि सक्षम र आफैँमा आत्मनिर्भर छु । बाबुआमाले कमाएको पैसाबाट पढेर बिभिन्न विषयमा डिग्री गरेर आफूलाई डिग्री गरेको छु,राम्रो शिक्षा पाएकोछु, म सर्वोत्कृष्ट छु, म नै सबैथोक जान्ने हूँ भन्ने सोचलाई परिवर्तन गर्न सिक्नु अपरिहार्य सोचको विकास गर्नु हो । विभिन्न विषयमा डिग्री पास गरेर मात्रै हुँदैन त्यो शिक्षा भनेको त मात्र अहमताको शिक्षा हो, विदेश जान सजिलो पारिदिने एउटा पासपोर्ट मात्र हो । आमाबाबुले कमाएको पैसाले पढेर आफुलाई उपल्लो दर्जाको ठान्नु भनेको व्यवहारिक शिक्षाको कमी हुनु हो । पढेर मात्र होइन परेर पनि सिक्नु भनेको धेरै राम्रो कुरा हो । जे होस् अथवा जोसुकैले जे भनोस्, विरोध गरोस्, म सत्यको पक्षमा सधैँ हिँड्ने र आफ्नै मेहेनत र पसिना बगाएर आफ्ना कामहरुलाई निरन्तरता दिने गर्छु । मैले पाएका प्रत्येक धोका, हार र चोट मेरो आगामी दिनहरुमा कर्मनिष्ठताको टेवा तथा कामप्रतिको ऊर्जाको रुपमा परिणत गर्ने प्रयास गरेकी छु । ठक्कर खानु र गल्ति गर्नु भनेको असफल ठहरिनु होइन । मैले जति चोट खाएकी छु त्यसले मलाई एक प्रकारको अझ नयाँ तरिकाले जिउने नयाँ ऊर्जा दिएको छ । भनिन्छ भाग्य भन्दा कर्म ठूलो हुन्छ, त्यसकारण मैले कर्मलाई नै विश्वासीलो साथी ठानेकी छु ।



जति पीडा भएपनि बरु घरभित्र बेस्सरी रुने गर्छु बाहिर निस्कँदा हल्का मुस्कान लिएर हिँड्ने गर्छु, मलाई थाहा छ बाहिर आफ्ना भन्नेहरु सँग आफ्नो पीडा देखायो भने सहानुभूति दिने भन्दा भित्रभित्रै ताली बजाउने प्रवृत्ति यत्रतत्र भएको अनुभूति मैले गरेकी छु । मलाई थाहा छ एउटै आकाशमा उडिरहेका चराहरु मध्ये परेवाले आँगनको बिस्कुन देख्छ, कागले जूठेल्नुको जूठो देख्छ त्यस्तै गिद्धले बारीका डिलको सीनो देख्छ, त्यसकारण जो सँग जस्तो व्यवहार वा सोच हुन्छ उसको दृष्टिपनि त्यस्तै हुन्छ भन्ने मैले बुझेकी छु ।

जिवनका विभिन्न आरोह अवरोह, उकाली ओराली, सुख दुःख अनि हाँसो रोदनका पलहरुलाई पार गर्दे आजको यस मोडसम्म आइपुग्दा मैले आफ्ना भन्नेहरु सँग सामना गर्दै आएको मेरो तीतो अनुभव पनि छ । अचानाको पीडा खुकुरीलाई के थाहा भने झैँ त्यो कुरा मलाईमात्र थाहा छ । समयको दुश्चक्रले म माथि प्रहार गरेका पल र त्यसबाट मैले भोगेका अनेकौँ भोगाई अनि मेरा अगाडि लम्पसार परेर तेर्सिएका मेरा जिन्दगीका लामो बाटोहरुमा छरिएका काँडाहरु पन्छाउँदै हिँड्न म आजसम्म बाध्य छु ।

मैले यस जिन्दगीको ओहापोहमा विभिन्न कोणबाट हेर्दैजाँदा आजसम्म मेरो पीडालाई हेरिदिने र बुझिदिने अर्थात् बुझ्न सक्ने कोही देखेकी छैन । मैले मेरा आफन्तको वा आफ्ना बाबुआमासँग शरण परेर बस्न तथा आफ्ना समस्याहरु सुनाएर बस्न र उनीहरुलाई थप तनाब दिनलाई उचित हो भन्ने लागेको छैन । बरु मेरा हरेक दुःखमा म एक्लै रोएँ, हरेक पीडाहरुमा आफैँ समालिएँ र मेरो सामू आएका हरेक समस्याहरुसँग एक्लै जुधि नै रहेकी छु । मेरो एकल जीवनलाई नियाली रहेका मेरा शुभचिन्तकहरुले नयाँ जीवन जिउन र जीवन साथि खोज्न मलाई सर–सल्लाह नदिएका पनि होइनन्, तर मलाई थाहा छ एकपटक पुछिएको सिउँदोमाथि सिन्दूर हाल्ने सोचेजस्तो निस्वार्थ हातहरु भेट्न चाहना राख्ने पंक्तिमा मैले आफूलाई उभ्याएकी छु, तर त्यसका साथै बेला बेलामा म सोच्ने गर्छु अनि आफैँ भस्कन्छु हैट् ! हुन्न यस्तो सोच बोकेर हिँड्नु । फुटेको मेरो भाग्यसँगै चकनाचूर भएको मेरो विगत जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी भनेजस्तो भेट्न मलाई गाह्रो भएको महसुश हुन्छ । विगतमा मैले गुमाएको चोखो मायाजस्तै पुनः फर्काएर मेरो जीवनमा खुशीको रङ्घ भरिदिने त्यस्तो कुनै दयालु मन पाउन सक्छु र? म आफूले आफैँलाई प्रश्न गर्छु स्वच्छ र निस्कपट व्यक्ति पाउँछु होला र पाएँभने के यो पुरुषप्रधान समाजले मेरो दोस्रो जीवनलाई साथ देला र ? पटक पटक म आफैँलाई प्रश्न तेस्र्याउँछु, भविष्यमा म कुनै दुर्घटनाको शिकार त हुने होइन भनेर ।

हाम्रो समाजमा श्रीमती स्वर्गवास भएपछि महिना पनि नबित्दै अर्की नयाँ श्रीमती भित्र्याउन हतारिने अनेकौँ पुरुषलाई पचाएको हाम्रो नेपाली समाजले म जस्ता एकल नारीलाई पनि पूर्ण जीवन दिनुपर्छ भन्ने मेरो ठहर हो । आजका हरेक एकल नारी हरेक पुरुषसँग हरेक क्षेत्रमा काँधमा काँध मिलाएर हिँड्न सक्षम र क्षमतावान् छन्, त्यसैले उनीहरुको कदर गरौँ उपहास हैन भन्ने मेरो भनाई हो ।

२०६८ सालको जनगणना अनुसार नेपालको कूल महिला जनसंख्याको ६ प्रतिशत एकल महिला छन् । राज्यको उच्च तहमा एकल महिला पाउनु पनि खुसीको कुरा हो । एकल महिलाको पीडा माथिल्लो ओहोदामा बस्ने सम्माननीय महामहिम राष्ट्रपतिज्यूले पनि राम्रोसँग अनुभूति गर्नु भएकै छ भन्ने मलाई विश्वास छ । देशको गरीमामय पदमा बस्दैमा उहाँले म जस्ता एकल महिलाको विगतमा देखिएका समस्या र पीडालाई बिर्सनु भएको छैन भन्ने मलाई लागेको छ । उहाँले एकल महिलाका समस्या सम्बोधन गर्न सक्नुभएको छ वा छैन मलाई थाहा छैन । मैले श्रीमान् गुमका वा श्रीमान्बाट टाढा भएका एकल महिलाहरुको सम्बन्धमा आजसम्म सम्पूर्ण अधिकार पाए वा लिए भन्ने कहिँ कतै सुन्न पाएकी छैन । श्रीमान्बाट टाढा हुँदैमा वा श्रीमान् गुमाउँदैमा कुनैपनि जन्मसिद्ध अधिकार गुम्न नहुने वातावरण र एकल महिलाले उत्तम जीवनयापन गर्नसक्ने अवस्था सहज पारिदिने राज्यको दायित्व हो र आफ्नो दायित्वबाट राज्य यसरी पन्छिएको झैँ भएर बस्नु हुँदैन । एकल महिला बारे आम धारणा र व्यवहारमा परिवर्तन हुन त्यति नै जरुरी छ ।

एकल महिलालाई हाम्रो समाजमा भिन्नै दृष्टिले हेरिन्छ त्यसमाथि परिवार र समाजबाट सान्त्वना, सहयोग र मायाको साटो दुव्र्यवहार खेप्नुपर्ने वातावरणले एकल महिलाहरुको जीवन परकीय बन्न पुग्दछ । समाज र परिवारमा उनीहरुले स्वाबलम्बी भई शिर ठाडो पारेर बाँच्ने अधिकार निस्तेज पार्न अनेकौँ प्रपञ्च रचिन्छ, त्यस्ता एकल महिलालाई काहीँ कतै स्थान दिइएको पाईँदैन, यिनीहरुले माइतीबाट समेत अपहेलना व्यहोर्नु पर्ने स्थिति आएको छ । त्यसकारण म के भन्छु भने कुनैपनि एकल महिला सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन होस् या नहोस्, सरोकारवाला सचेत हुन् या नहुन्, एकल महिलाले आफ्नो पहिलेको श्रीमान् गुमाइसके पश्चाद् दोस्रो विवाह गर्न पाउने स्वतन्त्र अधिकारको सबैले सम्मान गर्ने कानूनको व्यवस्था अपरिहार्य ठान्दछु । यसकालागि एकल महिला पीडित भएकै छन् भने त्यस्तो अवस्थाको अन्त्यका लागि सरकार कठोर बन्नुपर्छ । यति हुन सक्यो भने साँचो अर्थमा एकल महिलाको सम्मान हुनसक्छ ।

–(लेखक चन्द्रकला बाँस्कोटा भक्तपुर महिला उद्यमी संघ,रिजाल प्लाष्टिक उद्योगकि सञ्चालिका हुनुहुन्छ ।)