एजेन्सी। बार्सिलोनाको इतिहासकै सर्वोत्कृष्ट खेलाडी ६ पटकको ब्यालोन डि ओर विजेता लियोनल मेस्सीलाई बार्सिलोनामै राख्नका लागि आफुहरुले सक्दो प्रयास गर्ने क्लबका पूर्व अध्यक्ष जोन लपोर्टाले बताएका छन् ।
बार्सिलोना अध्यक्षको उम्मेदवारसमेत रहेका लपोर्टाले मेस्सीलाई बार्सिलोनामै रहन उचित वातावरण सिर्जना गर्ने बताउँदै आएका छन् ।
बार्सिलोनाका अध्यक्ष उम्मेदवारहरुको मुख्य चुनौतिमध्ये मेस्सीलाई क्लबमा नै रहनाको लागि मनाउनु मुख्य रहेको छ ।
मेस्सीलाई यही राख्नका लागि हामी आफ्नो सम्पुर्ण कलाको प्रयोग गर्नेछौँ’ लपोर्टाले मेस्सीबारे बोल्दै भने ।
‘मेस्सी पनि आफ्नो लागि सहि निर्णय लिन सक्ने अध्यक्षको पर्खाइमा छन्,म र मेस्सीबिचको सम्बन्ध राम्रो र उनलाई थाहा छ कि म बोलीको पक्का छु तर अहिले उनको लागि केही निर्णय गर्न म सँग अधिकार छैन’ उनले थपे ।
‘पेलेलाई जस्तै मेस्सीलाई पनि आफ्नो सम्पुर्ण करियर एउटै टिममा बिताउने मौका छ,यो पक्कै पनि राम्रो हुनेछ तर २००३ र अहिलको कुरामा फरक छ’ उनले भने ।
लपोर्टा २००३ देखि २०१० सम्म बार्सिलोनाको अध्यक्षको जिम्मेवारीमा रहेका थिए । उक्त समय प्रशिक्षक पेप ग्वार्डिओलाको साथमा बार्सिलोना उत्कृष्ट लयमा रहेको थियो ।
लपोर्टाले केही समयअघि आफुले बार्सिलोनालाई पुरानै अवस्थामा ल्याउन सक्ने बताएका थिए भने पेप ग्वार्डिओलालाई बार्सिलोना फर्काउन प्रयास पनि गर्ने बताएका थिए ।