इंग्ल्यान्डको शानदार जित

  • प्रकाशित मिति : २०८३ असार ४, बिहीबार
  • नेपाल टेल संवाददाता

कप्तान ह्यारी केनको दुई गोल अनी जुड बलिङहम र मार्कुस रासफोर्डको एक-एक गोलमा इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४-२ ले पराजित गरेको छ ।

जितपछि इंग्ल्यान्डले समूह एलमा ३ अंक जोडेको छ ।



डालास स्टेडियममा भएको खेलको पहिलो हाफ २-२ को बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा दुई गोल गर्दे इंग्ल्यान्डले जित हात पारेको हो ।

इंग्ल्यान्डका कप्तान ह्यारी केनले पहिलो हाफमा दुई पटक गोल गर्दे अग्रता दिलाएका थिए । पहिलो हाफमै क्रोएसियाले पुनरागमन गर्दै दुई पटक बराबरी गोल फर्काएको थियो ।

कप्तान ह्यारी केनले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । केनले सुरुमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए । तर केनले बल प्रहार गर्नुअघि नै लिभाकोभिक अगाडि बढेको देखिएपनि पुन: पेनाल्टी प्रहार गरिएको थियो र केनले सहजै गोल गरे ।

क्रोएसियाका कप्तान लुका मोडरिकले नोनी मोदुएकेलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।

क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरि गोल फर्काए । पिटर सुसिकको ले-अफ पासमा बाटुरिनाले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

केनले ४२औं मिनेटमा डेक्लान राइसको कर्नरमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रता दिलाएका थिए । पिटर मुसाले पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा क्रोएसियाका लागि बराबरी गोल फर्काएका हुन् ।

खेलमा जुड बेलिङहमले ४७औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ३-२ को अग्रता दिलाएका हुन् । उनले एलिएट एन्डरसनको पासमा गोल गरेका हुन् ।

मार्सक रासफोर्डले ८५औं मिनेटमा इंग्ल्यान्डका लागि चौथो गोल गरेका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रासफोर्डले बुकायो साकाको पासमा गोल गरेका हुन् ।