लेवान्डोस्कीले उत्कृष्टको उपाधि जित्दा रोनाल्डो दोस्रो, मेस्सी तस्रो !

  • प्रकाशित मिति : २०७७ पुष ३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पनि पार्दै बायर्न म्युनिखका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले यो वर्षको ‘बेष्ट फिफा फुटबल अवार्ड’मा पुरुषतर्फ उत्कृष्ट घोषित भएका छन् ।

पोल्यान्डका ३२ वर्षीय सुपरस्टार लेवान्डोस्कीले सन् २०१९-२० को सिजनमा ४७ खेलमा ५५ गोल गरेका थिए ।



बायर्नलाई तीन मुख्य उपाधि दिलाउन उनको निर्णायक योगदान थियो । उनी च्याम्पियन्स लिग र लिग कपका सर्वाधिक गोलकर्ता पनि बनेका थिए ।

फिफाले हरेक वर्ष ९ विधामा अवार्ड प्रदान गर्ने गर्छ । यसवर्ष म्यानचेस्टर सिटीकी डिफेन्डर लुसी ब्रोन्ज महिलातर्फ उत्कृष्ट बनिन् ।

विजेताको घोषणा राष्ट्रिय टोलीका कप्तान र मुख्य प्रशिक्षक, समर्थकबाट आउने अनलाइन मत र विश्वभरबाट २ सय जना खेलकुद पत्रकारबाट आउने मतका आधारमा गरिन्छ ।

यस्तोमा लेवान्डोस्कीले ५२ अंक पाएका थिए भने रोनाल्डोले ३८ र मेस्सीले ३५ अंक पाएका थिए ।

लेवान्डोस्कीले यो अवार्ड जितेको पहिलोपल्ट हो । यसअघिका सिजनहरुमा बार्सिलोनाका मेस्सी र युभेन्टसका रोनाल्डोले नै यो अवार्ड जितिरहेका हुन्थे । यो सिजन पनि लेवान्डोस्की १४ खेलबाट १६ गोलसहित अग्रस्थानमै छन् ।