अमेरिकामा साइबर हमलाबाट संगीन खतराको चेतावनी, रुसमाथि आरोप

  • प्रकाशित मिति : २०७७ पुष ३, शुक्रबार
  • nepaltale.com

एजेन्सी। अमेरिकी अधिकारीले यो हप्ता एउटा ठूलो ह्याकिङ अभियानको पर्दाफास हुँदा यसले सरकार, संवेदनशील संरचना र नीजि क्षेत्रलाई संगीन खतरा भएको चेतावनी दिएको छ ।

साइबर हमलामार्फत् अमेरिकी आर्थिक तथा वाणिज्य मन्त्रालयलाई निशाना बनाइएको थियो ।

अमेरिकाको साइबर सेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सिक्योरिटी एजेन्सी (सीआईएसए) ले यो साइबर हमला रोक्नु निकै जटिल मामिला हुने बताएको छ ।

अमेरिकामा थुप्रै मानिसहरुलाई शंका छ कि यसको पछाडि रुसको सरकारको हात हो । यद्यपि, रुसलेृ यी दाबीलाई आधारहीन बताएको छ ।

बिहिबार सिआइएसएले एक बयान जारी गर्दै भनेको छ, ‘सरकारी निकाय, संवेदनशील संरचना र नीजि क्षेत्रका संस्थादलाई एक ‘लगातार अघि बढिरहेको एक खतरनाक खिलाडी’ मार्फत् निशाना बनाइएको थियो जसको सुरुवात सन् २०२० को मार्चमा नै भएको थियो ।’

उनका अनुसार ह्याक गर्नुको पछाडि उनीहरुले धैर्य, अपरेशनल सुरक्षा र यस्तो प्रकारको मामिलाबारे छोटो जानकारीको परिचय दिएका थिए ।

नव– निर्वाचित राष्ट्रपति जो बाइडेनले उनी साइबर सुरक्षालाई आफ्नो प्रशासनको शीर्ष प्राथमिकतामा राख्ने बताएका छन् । ।

यो ह्याकिङ अभियानमा अमेरिकाका थुप्रै सरकारी एजेन्सीलाई निशाना बनाइएको थियो ।

ह्याकरले अमेरिकी विदेश, रक्षा, आन्तरिक सुरक्षा, वित्त तथा वाणिज्यजस्ता विभागको गोप्य डाटा मोनिटर गरेका थिए ।

तर अहिलेसम्म न त सीआईएसए न नै एफबीआईले यो साइबर हमलाको पछाडि कसको हात छ भनेर सार्वजनिक रुपमा भनेका छैनन् । यद्यपि, अमेरिकी मिडियामा नीजि सुरक्षा कम्पनी र अधिकारीलाई उद्धृत गर्दै यसका लागि रुसमाथि औंला उठाइएको बताइएको छ ।

सोमबार अमेरिकामा रुसी दूतावासले सोसल मिडियामा एक बयान जारी गर्दै रुस साइबर क्षेत्रमा आक्रामक हमला गर्न नसक्ने बताएको छ ।