कोरोना खोप सबै नेपालीलाई नि:शुल्क हुन्छ : अर्थमन्त्री पौडेल

  • प्रकाशित मिति : २०७७ पुष ३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीले कोरोनाको खोप नि:शुल्क रुपमा पाउने बताएका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमा मन्त्री पौडेलले सबै नागरिकलाई राज्यले कोरोना खोप उपलब्ध गराउने बताएका हुन।



खोप आयातका लागि हाल सफल भएका र अध्ययन भइरहेका मुलुकमा कूटनीतिक रुपमा कुराकानी भइरहेको र यसमा आर्थिक समस्या नहुने मन्त्री पौडेलको भनाई छ।

कोरोना खोप आएपछि उमेर अनुसार र आवश्वयकता अनुसार भने लगाइने उनले स्पष्ट पारे।

सरकारकाले सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध र अनि सबै नागरिकलाई खोप लगाउने तयारी भएको मन्त्री पौडेलले जानकारी दिए।

नेपाल आर्थिक पत्रकार सङ्घको नवनिर्वाचित कार्य समितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै खोपको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताए।

“भ्याक्सिनमा नागरिकले दायित्व व्यहोर्नु पर्दैन, हामी त्यो तयारीमा छौँ”, उनले भने, “भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशसँग कुटनीतिक संवाद जारी राखेका छौँ।”

उनले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलायमान बनाउन सरकार लागि परेको जनाए। “अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छ”, उनले भने।