काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
यसअघि आजै बिहान प्रधानमन्त्री ओलीले खुलमटारस्थित प्रचण्ड निवासमा पुगेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेतासँग भेट गरेका थिए।
उक्त घेटघाटमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग आफूमाथि लगाएको आरोप फिर्ता लिन आग्रह गरेका थिए। तर, प्रचण्डले पुरानै अडान दोहोर्याएका थिए।
दाहालसँगको भेटमा प्रधानमन्त्री ओलीले यदि सहमति खोज्न आफुले पार्टी अध्यक्ष पद छोड्नु परे उपाध्यक्ष वामदेव गौतमलाई अध्यक्ष बनाउन प्रस्ताव गरेको समेत बुझिएको छ।
त्यसपछि मन्त्री क्वार्टरमा पुगेका प्रधानमन्त्री ओलीले बिहानै गृहमन्त्री रामबहादुर थापा लगायतका मन्त्रीहरुसँग भेटघाट गरेका थिए।
सो भेटपछि प्रधानमन्त्री ओली साँझ राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास छिरेका हुन्। उनी किन शीतल निवास गए भन्नेबारे केही खुलाइएको छैन।
संवैधानिक निकायसम्बन्धी अध्यादेश फिर्ता लिने अपेक्षा गरिएका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
उनीहरूबीच छलफल जारी रहेको छ। यसअघि प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले एकपटक राष्ट्रपति भण्डारीसँग भेटेर मात्र अध्यादेश फिर्ता लिने बताएका थिए।
यसअघिको नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गर्ने बचन समेत दिएका थिए। तर, हालसम्म पनि ओलीले अध्यादेश फिर्ता गरेका छैनन्।
नेकपाको स्थायी कमिटीको बैठक भोलिका लागि बोलाइएको छ।