सर्वदलीय बैठकको निष्कर्ष : संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक

  • प्रकाशित मिति : २०७७ पुष ६, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको ठहर गरेको छ ।

कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस, जनतासमाजवादी पार्टी र नेकपाका प्रचण्ड–नेपाल समूहको भेलाले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु संविधानविरोधी र अलोकतान्त्रिक कार्य भएको ठहर गरेको हो ।



संसद् विघटनको विरुद्धमा तीनवटै दलले मंगलबार बोलाएको केन्द्रीय समिति बैठकमा छलफल गरेर फेरि थप निर्णय गर्ने जनाएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेलगत्तै यी तीन दलका नेताहरु भेला भएर ओलीको कदमविरुद्ध एक भएर लड्ने निष्कर्ष निकालेका थिए ।

छलफलमा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल सहभागी भएका थिए ।

त्यसैगरी काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक काेइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक लगायत सहभागी भएका थिए भने जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र साेनल सहभागी थिए ।