ओली समूहबाट प्रचण्ड–नेपाल समूहमा फर्किए पूर्व मन्त्री शेरबहादुर तामाङ

  • प्रकाशित मिति : २०७७ पुष ९, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । लगातार २ दिन प्रधानमन्त्री केपी शर्मा ओलीको समूहका बैठकमा सहभागी भएका नेकपाका सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहमा फर्किएका छन् ।

आइतबार संघीय संसदको प्रतिनिधि सभा विघटन गरेपछि त्यसको भोलिपल्ट प्रधानमन्त्री ओलीले बालुवाटारमा नेकपा सांसदहरुको बैठक बोलाएका थिए । उक्त बैठकमा तामाङ सहभागी भएका थिए ।



त्यसको भोलिपल्ट मंगलबार ओलीले केन्द्रीय कमिटीका सदस्यहरुको भेला बोलाएका थिए । मंगलबारको भेलामा पनि तामाङ सहभागी भएका थिए ।

ओली समूहको भेलामा सहभागी भएका तामाङले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा आफ्नो हस्ताक्षर दुरुपयोग भएको समेत बताएका थिए । तर, अब भने आफू प्रचण्ड–नेपाल समूहमै फर्किएको तामाङले आफू निकटलाई जानकारी दिएका छन् ।

प्रचण्ड–नेपाल निकट एक केन्द्रीय सदस्यले तामाङ आफूहरुकै ‘क्याम्प’मा फर्किएको बताए । प्रचण्ड–नेपाल समूहले बिहीबार बोलाएको केन्द्रीय कमिटी बैठकमा पनि तामाङ सहभागी हुनेछन् ।

तामाङ प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । ओली सरकारमा संसदीय मामिला तथा कानून मन्त्री भएका तामाङ एउटा अभिवक्तिका कारण प्रधानमन्त्री ओलीकै दवाव पछि मन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

तत्कालीन नेकपा एमालेको राजनीतिमा तामाङ लामो समय माधव नेपाल समूहमा नै सक्रिय थिए ।

केही दिन ओली समूहमा लागेका तामाङ जिल्लाका नेता र आफू निकटका व्यक्तिको दवाव पछि पुनः प्रचण्ड–नेपाल समूहमा नै फर्किएका हुन् ।