तनहुँ। नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य नेता मदन आलेले केपि ओलीले विघटन गरेको संसद पुन स्थापना हुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रिसिङ गाउँपालिका कमिटिले ढुङ्गाडेमा आयोजना गरेको गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै आलेले अदालतबाट संसद पुनः स्थापना हुने र त्यसको नेतृत्व नेकपाको सरकारले नै गर्ने दाबी गरेका छन् । उनले अहिले देशमा के भैरहेको छ भन्ने कुराको बारेमा केपी ओलीलाई बाहेक अन्य कोहिलाई थाहा नभएको बताए ।
ओलीबाट संसद विघटन गर्ने जुन असम्बैधानिक काम भएको छ यो नेपालको संविधान २०७२ अनुसार नभएको नेता आलेले बताए । उनले संसद विघटन गरेर केपी ओलीले पार्टी र जनमतकै अपमान गरेको जनाए । नीति नियममा नै नभएको क्रियाकलाप गरेर ओलीले नेपाली जनतालाई भ्रममा पारेको आलेले कार्यकर्तालाई स्पष्ट पारेका थिए । त्यस्तै उनले सुर्य चिन्ह नेकपाको नै भएको र यस बारेमा भ्रममा नपर्न नेकपाका कर्याकर्तालाई आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै तनहुँ अनेरास्ववियूका जिल्ला अध्यक्ष डम्बर विकले नेकपामा दुर्घटना भएता पनि यात्रु सुरक्षीत रहेको बताएका छन् ।

विकले केपी ओलीले गरेको असम्वैधानिक क्रियाकलापको बिरोध गर्दै प्रतिपक्षीलाई पनि साथमा लिएर अधि बढनु पर्ने बेला आएको बताए । झापाबाट चुनाव जितेर प्रधानमन्त्री बनेका ओलीले नेपालभरबाट चुनाव जितेर प्रतिनिधि सभामा गएका अन्य सांसदहरुको पनि जागीर खाएर जनमतको अपमान गरेको जनाए । त्यस्तै विकले केपी ओलीले ५ बर्षलाई भनेर जनतासंग मागेको भोटको अपमान गर्दै ताजा जनादेशको नाममा देशलाई दुर्घटनामा लगेको जिकिर गरे ।
पछिल्लो समय पार्टी र देशमा भैरहेको गतिविधि र यसमा उठेका टिकाटिप्पणि बारेमा बुझाउदै रिसिङका कर्याकर्तालाई एक ढिक्कामा राख्न आफुहरु लागी परेको र केन्द्र विवाद देखिए पनि त्यसको असर रिसिङका नेकपा कर्याकर्तालाई नपर्ने नेकपा रिसिङका गाउँपालिका सदस्य भुपाल थापाले बताए ।