काठमाडौं । भारतको पश्चिम बंगालस्थित कालेबुङ मैदानमा आयोजना भएको नेपाली चर्चित र्यापर आशिष राना लाउरेको कन्सर्टमा भागदौड हुँदा दुई जनाको मृत्यु र पाँच जना गम्भीर घाइते भएका छन् ।
गेटमा भीड हुँदा भागाभाग भएपछि लडेर त्यही भीडले कुल्चिँदा एक महिलाको मृत्यु भएको पश्चिम बंगाल प्रहरीले जनाएको छ ।
भागदौडमा ३९ वर्षीया विनिता गुरुङ र ४६ वर्षीया अनिता क्षेत्रीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
म्याड डग नामक संस्थाले आयोजना गरेको कन्सर्टमा नेपाली अभिनेता एवं र्यापर लाउरेले प्रस्तुति दिएका थिए ।
प्रहरीका अनुसार लाउरेले गाइसकेपछि एक्कासी कन्सर्टको प्रवेशद्धारा खोलिंदा धेरै मानिस सिंढीमा लडेका थिए । घाइतेलाई कालेबुङ अस्पतालमा उपचारार्थ लगिएको थियो ।
घाइतेमध्ये अमिता सुब्बा र मिक्सम तामाङको गम्भीर अवस्थामा सिलुगढी अस्पतालमा उपचार भैरहेको छ ।
घटनालाई लिएर सांसद राजु विष्ट र चर्चित गायक विपुल क्षेत्रीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनीहरुले घटनाको छानबिन गर्न पनि माग गरेका छन् । सांसद विष्टले प्रहरीले लाठीचार्ज गर्दा भागदौड मच्चिएको उल्लेख गर्दै घटनामा प्रहरी दोषी देखिएको भनेका छन् ।