काठमाडौं । प्रधानन्त्री केपी शर्मा अोलीले माधव नेपाल पक्षीय नेता योगेश भट्टराईलाई ‘बैगुनी केटा’को संज्ञा दिएका छन्।
शनिबार प्रदेश नं १ का कार्यकर्ताको भेलालाई राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले योगेशको नाम नलिई ‘बैगुनी केटो’को संज्ञा दिएका हुन।
प्रदेश १ मै पनि बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने ओलीको भनाइ थियो।
‘म कुनै बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहन्न। हाम्रै प्रदेशमा पनि त्यस्तै देख्या छ। दौडीदौडीकन गएर भोट मागेर, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउँछु भनेँ, मन्त्री बनाएँ, गरियो गरियो, एक दिन त पुक्क लत्ता हानेर भाग्यो’, सम्बोधनको क्रममा ओलीले भने, ‘को भनेर यसो हेर्दा त उही केटो।’
यसअघिको चुनावमा ओली तेह्रथुम पुगेर योगेशलाई जिताउन आग्रह गरेका थिए।
ओलीले त्यसबेला योगेशलाई मन्त्री बनाएर पठाउने प्रतिवबद्धतासमेत जनाएका थिए। सोही प्रतिबद्धता अनुसार ओलीले योगेशलाई आफ्नो सरकारमा पर्यटनमन्त्री बनाएका थिए।
तर, प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोधमा मन्त्री भट्टराई सहितका केहि मन्त्री सरकारबाट बाहिरिएर प्रचण्ड-नेपाल समूहको आन्दोलनमा लागेका छन्।
ओलीले शनिवारको सम्बोधनमा यस्ता कुरामा आफू अल्झिन नचाहेको भन्दै नयाँ युवालाई समेटेर अघि बढ्ने र प्रदेश १ ले चुनावमा पनि एक नम्बर नै बन्नुपर्ने बताए।