काठमाडौं । देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
झण्डै एक हप्ता अघिदेखि नै देशका धेरै ठाउँ बादल र कुहिरोले ढाके पनि पानी भने पर्न सकेको छैन ।
अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । तर पानी पार्ने उल्लेख्य मौसमी प्रणाली नरहेकाले तत्काल पानी पर्ने सम्भावना नदेखिएको मौसमविदको भनाइ छ । यो वर्ष हिउँदे पानी पर्न ढिला भएको छ ।
अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसहितका देशभरका धेरै ठाउँहरुमा कुहिरोले ढाकेको छ ।
तराईका जिल्लाहरुमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ । आउँदो तीन दिनसम्म नै मौसम यस्तै नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार पर्सि सोमबारसम्म नै देशका धेरै ठाउँमा बादल लाग्नेछ भने तराईका जिल्लाहरु हुस्स कुहिरोले ढाक्नेछ ।
तराईका धेरैजसो ठाउँहरुमा बिहानीपख बाक्लो हुस्सु् र कुहिरो लाग्ने हुँदा चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।