वीरगन्ज । पर्साको बहादुरमाई नगरपालिका–४ बहुअरीका १ वर्षीय अकलेश राउत यादवको गत पुस १ गते पर्साको पर्सागढी नगरपालिका–६ चैनपुरस्थित आफ्नै खेतमा शव फेला पर्यो ।
अकलेशको शव खेतको आलीमा रहेको पकडीको रुखमा गलबन्दीको पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला परेको थियो । परिवारका सदस्यले अकलेशले आत्महत्या गरेको हुनसक्ने आशंका गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले पनि अकलेशले आत्महत्या नै गरेको हुनसक्ने आशंका गरेको थियो ।
तर, घटनास्थलको प्रकृति, शवको अवस्था र घटना अघि पछिका अवस्थालगायतको सुक्ष्म विश्लेषण गर्दा अकलेशले आत्महत्या गरेको नभइ उनको हत्या भएको निष्कर्शका साथ प्रहरीले थप अनुसन्धान अगाडि बढायो ।
अकलेशको मृत्युबाट विभिन्न पक्षलाई हुनसक्ने लाभ र हानीलाई समेत विश्लेषण गर्दा हत्या नै भएको हुनसक्ने भनेर पुनः अनुसन्धान थालिएको थियो । पुनः अनुसन्धान गर्दा हत्याको डेढ महिनापछि प्रहरीले आरोपीहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले अकलेशको हत्या आरोपमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ५१ वर्षीय भागरित राउत अहिर, सोही ठाउँ बस्ने ४१ वर्षीय ताहिर मिया र २७ वर्षीय छठु पटेल भनिने दिनेश पटेललाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका ५१ वर्षीय भागिरत राउत मृतक अकलेशका फुपाजु हुन् । अकलेशको मृत्यु पछि उनका बुवा र ठूलोबुवाको नाममा रहेको सम्पत्तिको एक्लो हकदार आफू हुने देखिएपछि भागिरतले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
भागिरतले आफ्ना साला अकलेशको हत्या कै लागि भनेर ४१ वर्षीय ताहिर मिया र २७ वर्षीय छठु पटेल भनिने दिनेश पटेललाई आर्थिक प्रलोवनमा पारेका थिए । पछि अकलेशलाई खेतमा काम छ भन्दै बोलाएर ताहिर र छठु समेतको सहयोगमा उनकै गलबन्दी घाँटीमा बेरेर हत्या गरी आत्महत्या गरेको जस्तो देखाउन शवलाई रुखमा झुन्ड्याएको भागिरतले प्रहरी समक्ष बयान दिएका छन् ।
प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य गरी ज्यान मारेको कसुरमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ ।