संवैधानिक नियकामा भएका नियुक्तिविरुद्ध रिट लिएर सभामुख आफैं पुगे सर्वोच्च अदालत

  • प्रकाशित मिति : २०७७ माघ २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै सभामुख अग्नि सापकोटा आफैं रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

सभामुख सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायत पनि संवैधानिक निकायहरुमा भएको नियुक्ति र शपथग्रहण बदर गर्न माग गर्दै अदालत पुगेका छन् ।



सर्वोच्च अदालत स्रोतले सभामुख सापकोटासहित नेकपाका नेताहरु रिट दर्ता गर्न पुगेका जनाएको छ । अहिले रिट अध्ययन भइरहेको र प्रक्रिया पूरा गरेर दर्ता गरिने अदालत स्रोतले जानकारी दिएको छ ।

सभामुख सापकोटाले संसद् नभएको अवस्थानमा सुनुवाइ गर्ने समिति नभएको भन्दै संवैधानिक परिषदका सिफारिस फिर्ता पठाएका थिए।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकाय अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्त गरेका थिए ।

कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । त्यसको चौतर्फी विरोध भइरहेको छ ।