ओलीले ‘नयाँ खुलासा’ गर्छन् भन्ने हल्लाले दरबारमार्ग पुगेकाहरू निराश भएर फर्के!

  • प्रकाशित मिति : २०७७ माघ २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजन जस्तो देखिएको छ।

यद्यपि औपचारिक रुपमा उनीहरु विभाजित भएका होइनन्। प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड-माधव नेपालको समूहले आफू आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन्।



केही दिन अघि राजधानीमा प्रचण्ड माधव समूहले शक्ति प्रदर्शन गर्दै आफूहरू सक्कली नेकपा भएको दाबी गरे। र जनता (बहुमत) कसको पक्षमा छ भन्ने हेर्न आँखा खोल्न ओलीलाई चुनौती दिएका थिए।

प्रधानमन्त्री ओलीले पनि विपक्षी समूहको प्रदर्शनलाई टक्कर दिन माघ २३ गते आफूहरुको शक्तिप्रदर्शन हुने घोषणा गरे। ‘जनसभा कस्तो हुन्छ देखाइदिने’ ओलीको दाबी थियो।

देशका कार्यकारी प्रमुख सो समूहका नेताहरुलेनै माघ २३ को जनसभा ‘विशेष’ हुने बताएपछि यसलाई विभिन्न कोणबाट हेरिएको थियो।

खासगरि इतिहासमै पहिलो पटक कम्युनिष्ट प्रधानमन्त्रीले हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिको मन्दिरमा केहि दिन अघि विशेष पुजा गर्नु, नारायणहिटी राजदरबार अगाडि प्रदर्शनस्थल राखिनु, चितवनको अयोध्यापुरीमा भगवान रामको मन्दिर बनाउने कार्यमा अग्रसरता देखाउनु तथा वैदिक सनातन धर्मको अध्ययनमा रुचि राख्नु।

यी घटनाक्रम थिए जसले ओलीको अबको यात्रा कता होला भन्ने प्रश्न सर्वसाधारणमा मात्र नभई बौद्धिक समुदायमकाबीच पनि खडा गरेको थियो। उसो त ओली संघीयताको विरोधी नै हुन भन्ने गरिन्छ।

ओली समूहले राजधानीमा बृहत् जनसभा राखेपछि माधव नेपाल पक्षका नेता एवं पूर्व मन्त्री सुरेन्द्र पाण्डेले ओलीले हिन्दु राष्ट्रको घोषणा गर्न लागेको र सो कार्यक्रममा राजावादीहरुलाई समेत निमन्त्रणा गरिएको सूचना आफूले बताएका थिए।

‘ओली प्रवृत्ति’बारे जानकार तत्कालीन एमालेकै नेताले सो कुरा गरेपछि हिन्दुपक्षधर तथा राजतन्त्र पक्षधरहरू खुशी थिए।

आजको जनसभाबाट ओलीले हिन्दुराष्ट्रको घोषणा गर्न सक्ने, राजसंस्थाको पक्षमा केही नयाँ कुरा गर्न सक्ने अपेक्षा गरिएको थियो।

बहुमत जनताको माग रहेको हिन्दुराष्ट्र र राजसंस्थाको पुर्नबहालीप्रति ओलीले के कुरा गर्लान् भनेर चासोको साथ सुन्न आज प्रदर्शनमा धेरै राजावादी समेत सहभागि भए। ओलीले आजको जनसभालाई इतिहासकै ठूलो जनसभा भनेर दाबी त गरे। तर, नयाँ कुरा भने केही गरेनन्।