बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते

  • प्रकाशित मिति : २०७७ फाल्गुन १४, शुक्रबार
  • nepaltale.com

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नम्बरको जीप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जीप दुर्घटना भएको हो । घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ ।

यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालक बाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् ।

तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।