ताप्लेजुङको दोभानमा आगलागी, बैंकसहित ३० घर जलेर नष्ट

  • प्रकाशित मिति : २०७७ फाल्गुन १८, मंगलवार
  • nepaltale.com

दोभान । ताप्लेजुङ जिल्लाको दोश्रो ठूलो बजार दोभानमा आगलागी भएको छ ।

विहान ९ बजेदेखि आगलागी शुरु भएको स्थानीय दिपेश कार्कीले जानकारी दिए । कार्कीका अनुसार स्थानीय भोलानाथ पौडेलको घरबाट शुरु भएको आगो बजारका अन्य घरमा पनि फैलिएको छ ।

हालसम्म दोभान मनिट्रान्सफर र ग्लोबल आईएमई बैंक भएको घरसहित ३० वटा घर जलेर नष्ट भइसकेका स्थानीयले जानकारी दिएका छन् ।

आगलागी नियन्त्रणको लागि स्काभेटरको माध्यमबाट केही घरहरु भत्काउने क्रम जारी रहेको छ । दमकललाई खबर गरे पनि अहिले सम्म दमकल आइनपुगेको स्थानीयको भनाइ छ ।

स्थानीय प्रशासनले भने आगो नियन्त्रणका लागि दमकल पठाइएको जानकारी दिएको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले आगो नियन्त्रणका लागि दमकल परिचालन गरिएको बताए ।

उनले आफू पनि आगलागी भएको क्षेत्रमा जान लागेको जानकारी दिएका छन् ।