काठमाडौं । भैरहवा र तिलोत्तमामा कोरोना संक्रमणको जोखिम बढेसँगै लुम्बिनी प्रदेश सरकारले सर्वसाधारणलाई न्यूनतम स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।
संघीय सरकारले जारी गरेको निर्देशिका पालनामा जोड दिँदै नाकाबाट भइरहेको आउजाउमा कडाइ गरिने भएको छ ।
भीड हुने कार्यक्रमलाई निरुत्साहित गर्ने पनि प्रदेश सरकारले जनाएको छ ।
यसका लागि जिल्ला प्रशासन र स्थानीय सरकारसित रोकथाम तयारीबारे छलफल गरिने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले बताए ।
‘अहिले मिडियामार्फत सचेतना फैलाइरहेका छौं,’ उनले भने, ‘छिट्टै पालिकासँग बैठक बस्ने, पुन क्वारेन्टाइन सञ्चालन तयारी थाल्न आग्रह गर्नेबारे सल्लाह भइरहेको छ ।’ कोरोना रोकथामका लागि गठित कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीसँग छलफल गरेर आगामी रणनीति तय गरिने उनले बताए ।
पहिलेको तुलनामा सचेत र व्यवस्थित तरिकाले कोरोनाको सामना गर्ने गरी अध्ययन र काम भइरहेको उनको भनाइ छ । ‘नागरिकलाई जतिसुकै आग्रह गर्दा पनि मास्क लगाउन आनाकानी गरिरहेकाले संक्रमण विस्तार नहोला भन्न सकिन्न,’ उनले भने ।
रूपन्देहीको मुख्य बेलहिया–सुनौली नाकामा पर्यटक आवागमन बन्द गरिए पनि विभिन्न प्रयोजनमा सीमा वारपार गर्नेको संख्या दैनिक बढिरहेको छ ।
सीमामा हुने खुला आगमनले भारतमा तीव्र फैलिरहेको कोरोना संक्रमण सहजै मुलुक प्रवेश गर्ने भएकाले नाकामा हेल्थ डेस्क राखेर ज्वरो नाप्ने काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए ।