धोबीखोलामा बगाइयो मेलम्चीको पानी

  • प्रकाशित मिति : २०७७ चैत्र १४, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । मेलम्चीको पानी आइतबारदेखि काठमाडौंका धारामा वितरण गरिने भएको छ । धारामा वितरण गर्नुअघि शुक्रबार मेलम्चीको पानी धोबीखोलामा खसालिएको छ।

शुक्रबार मेलम्चीको पानीलाई थोक वितरण प्रणालीको पाइपलाइन फ्लस गर्दै चावहिल नजिकैको धोबीखोलामा खसालिएको हो । मेलम्चीको पानी खसालेपछि धोबीखोलामा सङ्लो पानी बगेको जनाइएको छ ।



आइतबारदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीका घरघरका धारामा वितरण गर्ने तयारी छ । मेलम्चीको पानी वितरणको तयारी अन्तिम चरणमा पुगेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए ।

‘आइतबार र सोमबार दैनिक चार करोड लिटर र त्यसपछि साढे ५ करोड लिटर पानी वितरण हुनेछ,’ सचिव बेल्बासेले भने, ‘आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।’

पूर्ण क्षमतामा सञ्चालन हुँदा मेलम्चीको पानी दैनिक १७ करोड लिटर भन्दा धेरै वितरण हुने बताइएको छ ।