काठमाडौं । विश्वकप छनौटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको भारतले संयुक्त अरब ईमिरेट्स (यूएई)सँगको खेलमा ६ गोल खाएको छ ।
सोमबार भएको मैत्रीपूर्ण खेलमा युएईले भारतलाई ६-० गोलले पराजित गरेको हो ।
भारतविरुद्ध युएईका अली माबखोटले ह्याट्रिक गरे । उनले खेलको १२ औं मिनेटमा पहिलो गोल गर्दा ३२ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरे । अलीले ६० मिनेटमा तेस्रो गोल गरे ।
युएईका लागि खलिल इब्राहिमले ६४ मिनेट, डे लिमाले ७१ मिनेट र सेबास्टियन टाग्लिबुले ८४ मिनेटमा एक-एक गोल थपे ।
यसअघि भारतले पाँच दिन ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । भारतले ओमानसँग १-१ गोलको बराबरी खेलेको थियो ।
भारतीय टिमले विश्वकप छनोटका तयारीका लागि युएई र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
विश्वकप छनोटमा भारतले आगामी जुनमा कतार, बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ ।