काठमाडौं, बैशाख १३। कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि गरेको लकडाउन जारी छ ।
लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ । अत्यावश्यक काम र सेवाहरुबाहेकका सबै क्रियाकलापहरु बन्द छन् ।
शनिबार पनि राजधानी काठमाडौंका सडकहरुमा अत्यावश्यक सवारी साधनहरु भने चलेको देखिन्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकर लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारी साधनहरु फाट्टफुट्ट चलेका छन् ।
यस्तै सहरका भित्री सडकहरुमा अत्यावश्यक सामग्री खरिद गर्नका लागि सर्वसाधारणहरु घर नजिकको पसलसम्म पुगेको देखिन्छ । सुरक्षाकर्मीहरुले लकडाउन पालना गराउन सडकमा चेकजाँजलाई कडाई गरेका छन् ।
चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदलयात्रीको चेकजाँच गरिरहेका छन् । सरकारले वैशाख १५ गतेसम्म लकडाउनको समय तोकेको छ ।