विराटनगर । प्रेमिकालाई भेट्न बोलाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पीडित युवतीका प्रेमीसहित ४ जनालाई पक्राउ गरेको छ।
मोरङमा प्रेमीकै संलग्नतामा किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको हो। एक १७ वर्षीया किशोरीलाई उनकै प्रेमीले भेट्न बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धानबाट खुलेको छ।
घटनामा संलग्न समूहका चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले बताएको छ। संलग्न भएका दुईजना भने फरार रहेको डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो।
पक्राउ पर्नेहरुमा बूढीगंगा गाउँपालिका–६ का २१ वर्षीय टंके भनिने कुमार राई, १९ वर्षीय सन्देश लिम्बू र दुईजना १६ वर्ष मुनिका किशोरहरु छन्।
वैशाख १० मा किशोरीमाथि करणी भएको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका क्रममा सोही समूहले गत माघ १५ गते पनि उनीमाथि बलात्कार गरेको खुलेको छ। प्रहरीका अनुसार दोस्रो पटक बलात्कार भएपछि घटना सार्वजनिक भएको हो। प्रेमीकै संलग्नतामा किशोरीमाथि पहिलो पटक गत माघ १५ गते बलात्कार भएको खुलेको छ।