शीर्ष स्थानमा रहेको एथ्लेटिकोभन्दा बार्सा एक अंकले मात्र पछि

  • प्रकाशित मिति : 2021-04-06
  • nepaltale.com

एजेन्सी। उसमान डेम्बेलेले खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई १० खेलाडीमा सिमित रियल भालाडोलिडमाथि महत्त्वपूर्ण जित दिलाएका छन् । खेलमा डेम्बेलेको एक मात्र गोल निर्णायक बन्यो ।

ला लिगामा लगातार छैटौँ जीतसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा बार्सिलोना अब मात्र एक अंकले पछि रहेको छ ।



सोमबार राति भएको खेल बराबरीतर्फ अघि बढिरहेकोमा खेलको ७९ औँ मिनेटमा ओस्कार प्लानोले डेम्बेलेलाई फल हानेपछि रातो कार्ड पाएका थिए ।

भालाडोलिड १० खेलाडीमा सिमित बनेको फाइदा उठाउँदै डेम्बेलेले रोनाल्ड आराउजोको पासलाई गोलमा परिणत गरे ।

अब बार्सिलोनाले शनिबार एल क्लासिकोमा रियल म्याड्रिडको सामना गर्नेछ भने अर्को महिना एथ्लेटिको म्याड्रिडको आतिथ्य गर्नेछ ।

२९ खेलपछि शीर्ष स्थानमा रहेको एथ्लेटिकोको ६६, बार्सिलोनाको ६५ र रियल म्याड्रिडको ६३ अंक रहेको छ ।