काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठ र युगान्डाकी गायिका वियोन्से फमासीले सँगै नयाँ गीत गाउने भएका छन्।
बिहीबार गायक समेत रहेका कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत यसको जानकारी दिएका हुन्।
यसअघि दुबै जनाले गाएको फुलबुट्टे सारी बोलको गीत भाइरल बनेको थियो।
गायक श्रेष्ठले आफूहरुले गाएको ‘फुलबुट्टे सारी’लाई वियोन्सेले गाएपछि अन्तर्राष्ट्रियकरण भएको बताउँदै आफूले उनीसँग मिलेर नयाँ गीत गाउने तरखर गरेको बताएका छन्।
‘हामीले गाएको गीत फुलबुट्टे सारीलाई वियोन्सेले पनि गाइन्। त्यसपछि यो गीतले अन्तर्राष्ट्रियकरणको रुप लिएको महसुस गरिएको छ। अब, वियोन्से र म मिलेर एउटा युगल गीत गाउने तरखरमा छौं। वियोन्सेको तरुणी स्वरसँग मेरो बुढो स्वर मेल खाला किन नखाला खै’, श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा वियोन्सेसँगको फोटो सेयर गर्दै लेखेका छन्।