काठमाडौं । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको छ ।
जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो । बैंगलोरको जितमा एवि डी भिलियर्स २७ बलमा ४ चौका र २ छक्का सहित ४८ रनको योगदानी दिए ।
अन्तिम दुई बलमा जितको लागि दुई रन चाहिएको थियो । पाँचौं बलमा मोहम्मद सिराजले एक रन लिए । अन्तिम बलमा हर्षल पटेलले एक रन जोड्दै बैंगलोरालाई रोमाञ्चक जित दिलाएका थिए ।
यस्तै, बैंगलोरका ग्लेन म्याक्सवेल २८ बलमा ३ चौका र २ छक्का सहित ३९ रनमा क्याच आउट भए ।
मुम्बईका लागि जस्प्रित बुमराहले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । मार्को जानसेनले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्या र ट्रेन्ट बोल्टले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । मुम्बईका ओपनर क्रिस लिनले सर्वाधिक ४९ रनको योगदान दिए । कप्तान रोहित शर्मा १९ रनमा रन आउट हुन पुगे ।
दोस्रो विकेटका लागि लिन र सूर्यकुमार यादवले ४४ बलमा ७० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
बैंगलोरका तीव्र गतिका बलर हर्षल पटेलले ४ ओभरमा २७ रन खर्चेर ५ विकेट लिए । डेब्यू खेल खेलेका काईल जामिसनले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । वासिंगटन सुन्दरको नाममा १ विकेट रह्यो ।
आईपीएलमा आज (शनिबार) साँझ ७ः४५ बजे चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स भिड्दैछन् ।