चार दिन पैदल हिँडेर योजना सम्झौता गर्न पुगे हिमालपारीका बासिन्दा

  • प्रकाशित मिति : २०७७ चैत्र २८, शनिबार
  • nepaltale.com

हुम्ला । हिमालपारिको गाउँ लिमीबाट चार दिन पैदल हिँडेर योजनाको सम्झौता गर्न स्थानीय बासिन्दा सदरमुकाम सिमकोट आइपुगेका छन् । प्रदेश र सङ्घीय सरकार मातहतका कार्यक्रम सदरमुकाम सिमकोटमै भएको कारण न्यालु लेकको हिउँ छिचोल्दै उनीहरू सदरमुकाम सिमकोट आइपुगेका हुन् ।

नाम्खा गाउँपालिका–६, हल्जीगाउँमा तटबन्धन बनाउने योजनाको डिभिजन वन कार्यालयसँग सम्झौता गर्न सिमकोट आइपुगेको निर्माण उपभोक्ता समितिका सदस्य तुण्डुप तामाङले बताए । गाउँमा गठन गरिएको उपभोक्ता समितिले सो कार्यालयसँग सम्झौता गरेको उनले जानकारी दिए ।

लिमीका बासिन्दाले विकास निर्माणका काम गर्न चार दिन पैदलै हिँडेर सम्झौताका लागि सदरमुकाम सिमकोट धाउनैपर्ने बाध्यता रहेको छ । चार दिन हिँडेर सिमकोट आइपुगेको र योजनाको सम्झौता भएकाले अब गाउँ फर्केर निर्माण कार्य सुरु गरिने तामाङले उल्लेख गरे ।

त्यसैगरी वडा कार्यालय भवन र स्टोर भवनको घेरबार निर्माणका लागि गाउँपालिकासँग सम्झौता गर्न न्यालु लेकको तीन फिट हिउँ छिचोलेर आई सम्झौता गरेको सो योजनाका उपभोक्ता समितिका सदस्य पासाङ दोर्जी तामाङले बताए । न्यालु लेकमा हिमपातले गाडी सञ्चालन नभएका कारण निकै कष्टका साथ पैदल हिँडेर सम्झौता गर्नुपरेको उनको भनाइ छ । सो योजना ३७ लाख रुपियाँमा निर्माण हुने बताइएको छ ।योजनाको सम्झौता गाउँमा नहुने भएपछि विकास गर्न यसरी गाउँपालिका केन्द्र र सदरमुकाम सिमकोटमा रहेका कार्यालयमा धाउनुपर्ने बाध्यता लिमीवासीको रहेको बताइन्छ । गोरखापत्रमा खबर छ ।