काठमाडौंसहित ठूला शहरका विद्यालय १ महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

  • प्रकाशित मिति : २०७७ चैत्र ३१, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो लहर फैलिने जोखिम कम गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ ।

मन्त्रालयले काठमाडौंसहित देशका १५ वटा जिल्लाका ठूला शहरका विद्यालय कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस गरेको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले दोस्रो लहरको कोरोना संक्रमण फैलिने जोखिम कम गर्न विद्यालय बन्द गर्नुपर्ने सुझावसहित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिस गरिएको जानकारी दिए ।

काठमाडौं उपत्यकासहित भरतपुर, पोखरा, वीरगन्ज, विराटनगरसहितका शहरका विद्यालय १ महिनाका लागि बन्द गर्नुपर्ने भनेर सिफारिस गरिएको सचिव न्यौपानेले जानकारी दिए ।

फछिल्लो समय नयाँ प्रकार (भेरियन्ट)को कोरोना भाइरसको संक्रमण देखिन थालेको मन्त्रालयले जानकारी दिएको छ । नयाँ भेरियन्टको कोरोना संक्रमण दर समेत पुरानोभन्दा बढी रहेको र १८ वर्षमुनिका बालबालिकामा समेत सजिलै सर्नसक्ने भएकाले विद्यालय बन्द गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले गरेको सिफारिसका सन्दर्भमा सीसीएमसीले कुनै ठोस निणर्य भने गरिसकेको छैन ।

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण दर बढ्न थालेदेखि नै नेपालमा विद्यालय बन्द गर्नुपर्ने भनेर आवाज उठ्दै आएको छ । तर, सरोकारवालाहरुले भने तत्काल पठनपाठन बन्द नगर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।