काठमाडौं । चैते दसैं पर्व आज हिन्दु नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन्। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने दशैं यो वर्ष बैशाख महिनामा परेको छ ।
बडादसैंको जसो मान्यजनबाट टीका र जमरा लगाउने परम्परा नभए पनि चैते दसैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ। देशका विभिन्न शक्क्तिपीठमा भक्तजनहरु आजको दिन पूजाआजा गर्ने चलन छ ।
यो वर्ष कोभिड १९ को जोखिमका कारण सामाजिक दुरी कायम गरेर पूजापाठ गर्ने व्यवस्था मिलाइएको छ । सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी जम्मा नहुन निर्देशन गरेको छ ।
प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दसैं घरमा चैते दसैंका दिन पनि बलिसहित पूजा गरिन्छ। पूजासँगै चैत्र शुक्ल अष्टमीका दिन राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने कामनाले बलि दिइन्छ।
गत वर्षको चैते दसैंमा कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएका कारण बलि नदिई पूजामात्र गरिएको थियो।