लकडाउनको समयमा हेर्न सकिने उपयुक्त दर्जन फिल्म

  • प्रकाशित मिति : २०७७ बैशाख १३, शनिबार
  • nepaltale.com

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न देश विगत तीनसाता भन्दा लामोसमयदेखि लकडाउनमा छ । यो लकडाउन सरकारले अझै केहीसाता लम्ब्याएको छ । लकडाउनमा घरमा रहेकाहरुका लागि यतिखेर धेरै मनोविद, चिकित्सक तथा विज्ञ÷विद्वान्हरुले पुस्तकहरू पढ्ने, फिल्म हर्नेको अलवा मनोरञ्जनका विभिन्न सामाग्री अपनाउन सल्लाह दिएका छन् ।

मनोरञ्जन र टाइमपासका लागि सबैभन्दा उपयुक्त माध्यम मध्ये एक फिल्म पनि हो । तर कस्तो फिल्म ? धेरैमा प्रश्न उब्जिन सक्छ । त्यसैले समीक्षक तथा निर्देशकद्वय मनोज पण्डित र दीपेन्द्र लामाले यो लकडाउनमा हेर्न सुझाएका यी हुन् दर्जन फिल्म ।

लाइफ इज ब्युटिफुल :
यो इटालीको फिल्म हो । बाबु र छोरा एउटा नाजी क्याम्पभित्र थुनिएको कथामा फिल्म तयार भएको छ । फिल्ममा नाजी क्याम्प भित्रको त्रासदी वातावरणबाट आफ्नो सानो छोरालाई मनोबैज्ञानिक रुपमा जोगाउन एक बुबाले जोक्कर सरह गरेको व्यवहार पनि देख्न सकिन्छ ।

एक किसिमले हेर्ने हो भने फिल्म रमाइलो छ । समाजका शक्तिशालीले अरूमाथि दमन गर्ने कुरा जहिले पनि खतरनाक हुन्छ । त्यही पेरिफेरिको कथा भन्दा पनि हुन्छ फिल्म ‘लाइफ इज ब्युटिफुल’ ।
एक किसिमले हेर्ने हो भने फिल्म एकदमै पीडादायक छ । शासकले तहसनहस गर्दैमा जीवन तहसनहस हुँदैन । कहीँ न कहीँबाट जीवन उदाएर आउँछ । जीवन एकदमै सुन्दर छ । यो फिल्मले दिने मुख्य सन्देश हो ।
ग्राभिटी:

सन् २०१३ मा रिलिज भएको ‘ग्राभिटी’ले ८६औँ ओस्कार समारोहमा उत्कृष्ट फिल्म र निर्देशनसहित ७ वटा अवार्ड जितेको थियो । अल्फोन्सो कुरानद्वारा निर्देशित फिल्मले अन्तरिक्ष यात्रीहरुको सङ्घर्षलाई उजागर गर्छ । फिल्मको छायाँकन पक्ष अब्बल छ । यो फिल्म दर्शक, फिल्म मेकर सबैका लागि उपयुक्त फिल्म मानिन्छ । यसबाट धेरै कुरा सिक्न सकिन्छ ।

बाबेल :
यो हेर्नेपर्ने मध्यको एक महत्वपूर्ण फिल्म हो । एकअर्काेलाई बुझ्न एकअर्काको कुरा सुन भनेर फिल्मले भन्छ । हाम्रो समाज त ‘माइग्रेडेट’ समाज हो । एक ठाउँको मानिस अर्काे ठाउँमा गएर बस्ने क्रम निरन्तर चलिरहेको हुन्छ । यसले गर्दा हामीलाई एक अर्काेको भाषा बुझ्दैनौँ, संस्कृति बुझ्दैनौँ । नबुझे पनि कमसेकम सुन र त्यो सुनाइले उसको अनुहारमा देखिएको पीडालाई अनुभूति गर भन्ने बुझाउने फिल्म हो ‘बाबेल’ ।

फिल्म सुन्दर छ । फिल्ममा तीन देशका परिवारको सङ्घर्ष कथामा छ । ती मानिसको घटना, परिघटना एकअर्काेसँग बाँधिएको देखाइएको छ । यसले जीवन जहाँ भए पनि कतै न कतै कोही न कोहीको जीवन गासिएको महसुस गराउँछ ।  फिल्म एलेजान्द्रो गोन्जालेज इनारितुले निर्देशन गरेका हुन् ।  हुन् । दक्षिण अमेरिकी क्षेत्रको फिल्महरूको कथा भन्ने शैलीको अनुभव गर्नका लागि यो फिल्म राम्रो छ ।

द लन्चबक्स:
रितेस बत्रा निर्देशित सन् २०१३ को ‘द लन्चबक्स’लाई ओस्कारका लागि भारतको प्रतिनिधित्व गर्न सक्ने फिल्मका रूपमा लिइएको थियो । तर गुजराती फिल्म ‘द गुड रोड’लाई ओस्कार पठाइयो ।

थुप्रै अवार्ड कार्यक्रममा मनोनीत र पुरस्कृत यस फिल्मको सबैभन्दा ठूलो उपलब्धि भनेको बेलायतको ओस्कार अर्थात् बाफ्टा अवार्डमा विदेशी भाषाको उत्कृष्ट फिल्म विधामा मनोनित हुनु रह्यो । यसलाई अभिनेता इरफान खानको सम्झना योग्य फिल्म मानिन्छ । फिल्मबाट जीवन उपयोगी धेरै कुरा सिक्न सकिन्छ ।

पल्प फिक्सन:
पछिल्लो समयका चर्चित निर्देशकमा क्वेन्टिन टेरेन्टिनो पनि पर्छन् । हलिउडले जुन सहज अवधारणामा फिल्म बनाउँथ्यो, यिनले त्यो अवधारण नै भत्काइदिए ।  यिनी विद्रोही फिल्म मेकर पनि हुन् । उनलाई हलिउड फिल्मको प्रतिरोधी आवाज मानिन्छ । फ्रान्समा यस्तै काम ज्याँ लक गोर्दादले गरेका थिए ।

क्वेन्टिनले हलिउडमा तहल्का मच्चाइदिए । उनलाई ‘पल्प फिक्सन’ले चिनायो तर ‘रिजरभ्वायर डग’ उनको पहिलो फिल्म हो । उनको फिल्मले दिमागलाई हिंसात्मक ढङ्गले हल्लाइदिन्छ । फिल्ममा हिंसालाई पनि उनले अत्यन्त रोचक ढङ्गले प्रस्तुत गरिदिएका छन् ।

अधिकांश चलचित्र दुई कुराले बन्ने गरेका छन् । त्यो हो समय र स्पेस । यी दुवै कुरा टेरेन्टिनोले पनि प्रयोग गरेका छन् । उनको प्रयोगले नै बलियो मनोरञ्जन दिन्छ । त्यसकारण पनि उनका फिल्म हेर्न लाएक हुन्छन् ।

उडान
सन् २०१० को कान्स फिल्म फेस्टिभलको ‘अनसर्टेन रिगार्डस्’ सेक्सनमा छनोट हुन सफल ‘उडान’ विक्रमादित्य मोत्वानको डेब्यु निर्देशनमा बनेको फिल्म हो ।

बाउछोराबीचको ‘जेनरेसन ग्याप’लाई कथा बनाइएको फिल्म बक्स अफिसमा सफल नभए पनि समीक्षकका नजरमा उत्कृष्ट ठहरिएको थियो ।  फिल्ममा हेर्न लायकका धेरै कुरा छन् । सिक्नका लागि पनि यो फिल्म उपयुक्त छ ।

द पियानिस्ट 
राम्रो कथा बोकेको फिल्म हो ‘द पियानिस्ट’ । यसलाई रोमन पोलस्कीले निर्देशन गरेका हुन् । यो फिल्मले पनि हिटलरको नरहसंहार कालखण्डको कथा भनेको छ ।

यो पोल्यान्डमा भएको दुईवटा घटनामा आधारित छ । यसले एउटा पियानो बजाउने मानिसले पियानोकै कारण सोच्न पनि नसक्ने वातावरणमा बाँच्नका लागि गरेको सङ्घर्षको कथा भन्छ ।  फिल्मबाट संघर्ष, अकल्पनीय दुःख लगायतका उतारचढाव बुझ्न सकिन्छ ।

ट्री अफ लाइफ
यो फिल्म जीवन कसरी बुझ्न सकिन्छ भन्नेमा केन्द्रित छ । त्यसैले पनि फिल्मको नाम ‘ट्री अफ लाइफ’ राखिएको हुनुपर्छ । अहिलेको समयको सबैभन्दा अत्यन्त विद्ववान, सबैभन्दा सिर्जनशील केही फिल्म मेकर मध्ये एक हुन् यस फिल्मका निर्देशक– टेरेन्स मल्लिक । यिनी अस्तित्ववादी दर्शनबाट एकदमै प्राभावित छन् ।

अतित्ववादले मानिसको अस्तित्व उसको सोच र परिस्थितिले निर्धारण गर्छ भन्छ । यो एक किसिमले भन्ने हो भने दर्शनिक फिल्म पनि हो । जीवन दर्शनबिना सम्भव छैन भन्ने फिल्मको मुल बिषयबस्तु हो ।  टेरेन्च आफ्ना फिल्ममा जीवनको अर्थ खोजिरहेको देख्न सकिन्छ । यिनको फिल्म हेर्दा लाग्छ, जीवन के हो भनेर खोज गरिरहेका छन् ।

द ग्रान्ड मास्टर 
चिनियाँ फिल्मकर्मी वङ कर वाईद्वारा निर्देशित ‘द ग्रान्ड मास्टर’लाई सन् २०१३ को बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवको उद्घाटनमा देखाइएको थियो ।

फिल्मलाई हङ्कङबाट ओस्कार अवार्डमा पनि सहभागी गराइएको थियो । मार्सल आर्टमा कलात्मक फिल्म बनाउन सकिन्छ भन्ने एउटा उदाहरण हो यो फिल्म । खेलाडी, खेलप्रेमीले हेर्नैपर्ने यो फिल्म धेरैका लागि पनि उपयुक्त छ ।

कपुर एन्ड सन्स
भारतका प्रायः अवार्ड कार्यक्रममा उत्कृष्ट फिल्म विधामा मनोनित सन् २०१६ को ‘कपुर एन्ड सन्स’ सबैले अपेक्षा गरेभन्दा राम्रो बनेको थियो ।

नयाँ पुस्ताका युवा विदेसिँदा परिवारमा आउने बिग्रह फिल्ममा देखाइएको छ । करण जौहर निर्माता रहेको फिल्मलाई सकुन बत्राले निर्देशन गरेका हुन् ।

पिएटा:
दक्षिण कोरियाली निर्देशक किम कि दुकको सन् २०१३ को ‘पिएटा’ अन्तर्राष्ट्रिय रूपमा तहल्का मच्चाउन सफल फिल्म हो । यसले ६९औँ भेनिस फिल्म फेस्टिभलमा उत्कृष्ट अवार्ड गोल्डेन लायन जितेको थियो ।

संसारका उत्कृष्ट तीन महोत्सव भेनिस, कान्स र बर्लिनमध्ये कुनै एकमा मुख्य अवार्ड जित्ने पहिलो कोरियाली फिल्म हो यो ।

मासुम : 
भारतका छुटाउनै नहुने फिल्म मध्यको एक ‘मासुम’ पनि हो । यो फिल्म अत्यन्त व्यावसायिक मोडालिटीको फिल्म हो । जीवनको पीडा र भाव राम्रोसँग प्रस्तुत यो फिल्म पाउरफुल छ । ‘मासुम’ शेखर कपुरको फिल्म हो । फिल्मले साउथ र तामिल दुवैको उत्कृष्ट एलिमेन्टलाई समायोजन गरेको छ ।

फिल्मले जीवन र सम्बन्धको विषयलाई पनि अत्यन्त सुष्म ढङ्गले प्रस्तुत गरेको छ  । मानवीय समवेदनालाई पनि गहन रूपले नियाल्दै भित्री मनबाट आँखा रसाउने बनेको छ फिल्म । हिन्दी शक्तिसाली फिल्म मध्ये यो पनि हो ।