काठमाडौं विश्वविद्यालयले चिकित्सकको तलब काटेपछि विरोध

  • प्रकाशित मिति : २०७७ बैशाख १५, सोमबार
  • nepaltale.com

काठमाडाैं । काठमाडौं विश्वविद्यालयले चिकित्सकको तलब कटौती गरेपछि त्यसको विरोध भएको छ । काठमाडौं विश्वविद्यालय प्रध्यापक संघले विज्ञप्ति निकालेर त्यसको विरोध जनाएको छ ।

माहामारीको समयमा पनि काम गरिरहेका विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीको तलब कट्टी गर्न नहुने संघको भनाई छ ।

२०७६ चैत महिनामा खाइपाइ आएको रकममा २५ प्रतिशत सम्म कटाइ तलवभत्ता पठाएको भन्दै संघले विरोध जनाएको हो ।

संघका सभापति डा. वेदमणि दाहाल र महासचिव डा. विकास अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ –‘नेपाल सरकारले समेत कसैको तलबभत्ता नकटाउने घोषणा गरिसकेको र व्यक्तिगत आयको विना स्वीकृति एकलौटी रुपमा गरिएको निर्णय तुरुन्त फिर्ता लिन र कट्टा गरिएको रकम सम्वन्धितलाई तुरुन्त उपलब्ध गराउन समेत यस संघ आग्रह गर्दछ ।’

विज्ञप्ति

संसार नै कोरोना भाइरसले आक्रान्त भैरहेको अवस्थामा हाम्रो विश्वविद्यालय र यससंग सम्वन्धित विद्यार्थी, कर्मचारी र प्राध्यापकहरु पनि यसबाट प्रभावित हुनुभएको सवैले अनुभव गरीरहेका छौ । यस्तो विषम परिस्थिति र संकर्मणको वातावरणमा सावधानी अपनाइ तथा ब्यक्तिगत दुरी कायम राखी श्वस्थ र सुरक्षित रहन सवैमा यस संघ अनुरोध गर्दछ ।

रोगको प्रकोपका कारण विश्वविद्यालयमा पठनपाठन र दैनिक कार्यहरुसमेत प्रभावित भएको सवैलाइ अवगत नै छ । यस्तो परिस्थितिमा पनि विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेसका प्राध्यापक तथा कर्मचारीहरुले निरन्तर पु¥याएको सेवा र कार्यको यस संघ सराहना गर्दछ ।

यसरी माहामारीको समयमा पनि काम गरीरहेका विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीलाइ हौसला तथा पुरस्कारको ब्यवस्था गर्नुको साटो २०७६ साल चैत महिनामा खाइपाइ आएको रकममा २५ प्रतिशत सम्म कटाइ तलवभत्ता पठाएको प्रति यस संघ घोर आपत्ति प्रकट गर्दछ ।

नेपाल सरकारले समेत कसैको तलवभत्ता नकटाउने घोषणा गरीसकेको र ब्यक्तिगत आयको विना स्वीकृति एकलौटी रुपमा गरीएको निर्णय तुरुन्त फिर्तालिन र कट्टागरीएको रकम सम्वन्धितलाइ तुरुन्त उपलब्ध गराउन समेत यस संघ आग्रह गर्दछ । का वि पदाधिकारीहरुका यस्ता गैरजिम्मेवार कार्यको भत्सर्ना गर्न तथा प्राध्यापक कर्मचारीहरुका हकहितका बारेमा एकजुट हुन पनि यस संघ सवैमा विनम्र अनुरोध गर्दछ ।