छिमेकीको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका–१ डाडाबोखिमका ५६ वर्षीय इच्छा बहादुर राईलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
राई २०६१ वैशाख १ गते खुकुरी प्रहार गरी डाडाबोखिमकै ३९ वर्षीय झकेन्द्र बहादुर बिष्टको हत्या गरेका थिए । राईले तत्काल झकेन्द्रको ज्यान बचाउन खोज्ने तथा झगडा छुट्याउने सोही ठाउँका अम्बर बहादुर राईलाई समेत खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
उनका खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । लेनदेन सम्बन्धी पूर्व रिसईवीका कारणले उनले विष्टको हत्या गरेको अनुसन्धानबाट खुलेको जनाइएको छ । राईलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।