नेपाल इराकविरुद्ध मैत्रीपूर्ण खेलको पहिलो हाफमा ४-२ ले पछि

  • Published Date : 2021-05-29
  • nepaltale.com

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीले इराकविरुद्ध मैत्रीपूर्ण खेलको पहिलो हाफमा ४-२ ले पछि परेको छ । खेलको सुरुवातमै पछि परेपनि बराबरी गर्दै मनिष डाँगीको गोलमा अग्रता लिएको नेपाल अन्त्यतिर लगातार गोल खाँदै पछि परेको हो ।

खेलको दोस्रो मिनेटमा नै कर्नरमा हेडीङ गर्ने क्रममा विपक्षी खेलाडीको टाउकोमा जुध्दा मुख्य डिफेन्डर रोहित चन्द घाइते हुन पुगेका थिए । खेलको सातौं मिनेटमा नै इराकले सुरुवाती अग्रता बनायो । कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा गोल गरे । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक किरणको टाउको माथिबाट गोल भएको थियो ।



तर त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपाल बराबरी गर्न सफल रहयो । इराकका खेलाडी गोलको खुसियाली मनाएर संयम हुन नपाउँदै गरेको आक्रमणमा अन्जन विष्टको प्रहार क्लियर गर्ने धुनमा खलाफको प्रहार आफ्नो पोस्टमा छिरेको थियो ।

१३ औं मिनेटमा अन्जनले डिफेन्डरको गल्तिको फाइदा उठाउँदै गरेको प्रहारलाई गोलरक्षक फाहद तालिम रहिमले बचाए । त्यस लगत्तै इराकले केहि मुभ सिर्जना गरेपनि नेपालको डिफेन्स चिर्न सकेन । सुरुवाती १५ मिनेटपछि खेलको गति केहि सुस्त हुँदा इराकले बल पोसेसनमा पकड जमाउन सुरु गरेको थियो ।

२७ औं मिनेटमा किरणले क्रसमा आएको हेडरलाई बचाउँदै खेल १-१ को बराबरीमा राखे । त्यसकै काउन्टरमा सिर्जना भएको आक्रमणमा मनिष डाँगीले पेनाल्टी क्षेत्रबाहिर बल नियन्त्रण गर्न खोज्दा ह्याण्ड भएपछि नेपालको आशालाग्दो आक्रमण रोकिएको थियो । नेपालले खेलको ३० औं मिनेटमा मनिषको गोलमा अग्रता लियो । उनले सन्तोष तामाङको चलाखीपूर्ण पासलाई अफसाइड ट्रयाप बिट गर्दै गोल गरेका थिए । गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गरेका थिए ।

३६ औं मिनेटमा कप्तान किरणले क्रसमा आएको हेडरलाई विफल पार्दै नेपालको अग्रता जोगाएका थिए । ३८ औं मिनेटमा इराकले बराबरी गोल फर्कायो । कर्नरमा आएको बललाई मोहमद अब्दुल्जारा ओबेदले ६ अर्ड बक्स नजिकबाट हेडरमार्फत गोल गर्दै बराबरी गोल फर्काए ।

त्यसको एक मिनेट नबित्दै इराकले अग्रता लियो । डिफेन्समा समन्वय नहुँदा अयमन हुसेन गबधनले पेनाल्टी क्षेत्रभित्र बल पाएर गोलरक्षक किरणलाई छलाउँदै इराकलाई अग्रता दिलाए । रोहितले दिएको ब्याकपासमा किरण निकै पछाडी हुँदा गबधनले सहज अवसर पाएका थिए ।

इन्ज्युरी समयमा गबधनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकको अग्रता दोब्बर पारे । विंगबाट आएको क्रसलाई उनले गरेको हेडर गोलरक्षक किरणको हातमा लाग्दै गोल भएको थियो ।