चाइनिज ताइपेइको सामना गर्ने नेपालको सुरुवाती ११ सार्वजनिक

  • Published Date : 2021-06-03
  • nepaltale.com

काठमाडौं। विश्वकप तथा एसिया कप छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा चाइनिज ताइपेइको सामना गर्ने नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।

प्रशिक्षक अलमुताइरीले इराकविरुद्ध खेलबाट आक्रमणमा दुई परिवर्तन गरेका छन् । नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल र आशिष लामाले टोलीमा स्थान बनाएका छन् । पछिल्लो खेलमा मनिषले डेब्यु गर्दै गोल गरेका थिए । तर चोटका कारण उनले दोस्रो हाफमा मैदान प्रवेश गरेका थिएनन् । उनको स्थानमा मैदान प्रवेश गरेका सुनिलले आज अवसर पाएका छन् । त्यस्तै नवयुगको स्थानमा आशिषले सुरुवात गर्दैछन् ।



गोलरक्षक किरणका लागि पछिल्लो खेल बिर्सनलायक रहेपनि उनले नै टोलीको नेतृत्व गर्नेछन् । सेन्टर डिफेन्समा रोहित चन्द र अनन्त तामाङकै जोडीले निरन्तरता पाएको छ ।

लेफ्ट ब्याकमा सुमन अर्याल तथा राइट ब्याकमा गौतम श्रेष्ठले दीनेश राजवंशीभन्दा अघि रहेर सुरुवात गरेका छन् । मिडफिल्डमा पुजन उपरकोटीसँग सन्तोष तामाङ र सुमन लामाले खेल्नेछन् । आक्रमणमा अन्जन विष्टलाई आशिष र सुनिल बलले साथ दिनेछन् ।