काठमाडौं। नेपालले फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत सोमबार जोर्डनको सामना गर्दैछ। यी दुई देशबीचको खेल सोमबार राति पौने १० बजेदेखि सुरु हुनेछ।
यसअघि अवे खेलमा जोर्डनसँग उसकै भूमिमा नेपाल ३–० ले हारेको थियो। घरेलु मैदानमा खेल्नुपर्ने खेल कोरोना महामारीका कारण नेपालले कुवेतमा खेलिरहेको हो।
नेपाल रहेको समूह ‘बी’ को तालिकामा ५ खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ।
दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०–१० अंक छ। नेपाल ६ अंक जोडेर चौथो स्थानमा छ। पुछारको चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन।
जोर्डन फिफा वरियताको ९५औँ स्थानमा छ। नेपाल भने फिफा वरियताको १ सय ७१औँ स्थानमा छ। नेपालको सबैभन्दा उत्कृष्ट वरियता १६५औँ स्थान हो। नेपालभन्दा जोर्डन बलियो टोली हो।
नेपाले जोर्डनसँग तीन खेल खेलेको छ। जोर्डन २ म्याच जितेको छ भने एक म्याच बराबरीमा सकिएको थियो।
जोर्डनसँग खेल्नुअघि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रतिक्रिया दिएका छन् । अलमुताइरीले जोर्डनविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।
आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा अलमुताइरीले जोर्डन नेपालभन्दा बलियो टोली भए पनि जितको लक्ष्यका साथ नै मैदान उत्रिने बताए।
‘जोर्डन निकै बलियो रहेको र नेपालको कुनै सम्भावना नरहेको भन्ने देखेको छु। तर फुटबलमा त्यसो हुँदैन। हामीले नर्थ मेसेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं,’ उनले भने, ‘जोर्डन बलियो टोली हो । दुवै टोलीका लागि खेल गोलरहित बराबरीमा सुरु हुने हो । हामी एक मात्र लक्ष्यका साथ खेल्नेछौं र त्यो जित नै हो ।’
नेपालले एसिया कप छनोटअन्तर्गत समूह बी को सातौं खेलमा सोमबार जोर्डनसँग खेल्दैछ । यसअघि नेपालले चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको थियो ।
अलमुताइरीले नतिजा ल्याउनका लागि हरेक मिनेट राम्रो प्रदर्शन गर्ने बताए । यस्तै उनले एसिया कपमा छनोट हुने लक्ष्य रहेकाले यस खेलमा जित आवश्यक रहेको पनि बताए ।
यसअघि चाइनिज ताइपेई विरुद्ध गरेको अध्ययनले जित सम्भव भएको भन्दै अलमुताइरीले जोर्डन विरुद्ध पनि आफ्नो स्थानबाट सक्दो तयारी गरिरहेको बताए । ‘चाइनिज ताइपेईको खेलअघि जस्तो तयारी गरिरहेका थियौं, त्यस्तै तयारी गरिरहेका छौं,’ उनले भने ।
नेपाल र जोर्डनबीचको खेलको नतिजाले घरेलु टोली कुवेतको एसिया कप खेल्ने सम्भावना पनि जोडिएको छ । नेपालका प्रशिक्षक पनि कुवेतकै भएकोले जोर्डन विरुद्धको खेल पनि महत्वपूर्ण हुने बताए ।
उनले कुवेतले जोर्डनलाई पराजित गर्नुपर्ने समेत बताए । उनले सोमबारको खेलमा सबै खुशी हुने विश्वास समेत व्यक्त गरे ।
समूह बी मा जोर्डन ५ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । कुवेत ६ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । यदि नेपालले जोर्डनलाई पराजित गरेमा यसको फाइदा कुवेतलाई पनि हुनेछ ।
अष्ट्रेलिया ५ खेलमा शतप्रतिशत जितसहित १५ अंक जोडेर शीर्ष स्थानमा छ र एसिया कप छनोट नजिक पुगिसकेको छ। त्यसैले कुवेत र जोर्डन समूहमा दोस्रो भएर एसिया कप छनोट हुने लक्ष्यमा छन् ।